गल्ला व्यापारीबाट मार खेप्दै आएका किसानलाई राहत

सेयर गर्नुहोस

पल्लेदारीमा खर्चबापतको डेढ किलो बढी परिमाण नकाटिने सहमति

formr

चन्द्रौटा, १७ मंसिर ।

खाद्यान्न विक्रीमा सदियौंदेखि गल्ला व्यापारीबाट मार खेप्दै आएका किसानले अब भने राहत पाउने भएका छन् । खाद्यान्न विक्री गर्दा व्यापारीले किसानबाट पल्लेदारीमा खर्चबापत एकदेखि डेढ किलोसम्म बढी लिादै आएकोमा अबदेखि नलिने भएपछि किसानलाई केही राहत मिल्ने भएको हो ।

चन्द्रौटा उद्योग वाणिज्य संघ, कपिलवस्तु किसान संघ र गल्ला व्यापारीबीच पल्लेदारीको विषयमा भएको वृहत छलफलपछि व्यापारीले अबको मितिदेखि खर्चबापत लिने गरेको बढी परिमाण नलिने लिखित सहमति गरेको उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले जानकारी दिनुभयो । यसैगरी खाद्यान्न तौल गर्दा बोराबापत काट्दै आएको परिमाणमा समेत केही कटौती गर्ने सहमति भएको अध्यक्ष मियाले बताउनुभयो ।

किसानले खाद्यान्न विक्री गर्दा प्लास्टिक बोरामा तौल गर्दा अढाई सय ग्राम कटौती गरिादै आएकोमा अबदेखि एकसय ग्राम मात्र काटिने र जुटको बोराबापत एक किलो कटौती गरिंदै आएकोमा अब ८सय ग्राम काटिने सहमति भएको कपिलवस्तु किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिनुभयो । चन्द्रौटाबाट शुरुवात गरिएको यस किसिमको सहमति जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लाभर लागू गरिने चौधरीले बताउनुभयो ।

छलफल कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद पाण्डे, किसान संघका उपाध्यक्ष राम बहादुर रायमाझी, कोषाध्यक्ष पुजारीप्रसाद चौधरी, गल्लाव्यापारी शाहिद खान, फुलवारी गुप्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box