सार्स–कोभ २’ भाइरस चीनको वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट बाहिरिएको आशंका


एजेन्सी ।
कोभिड–१९ का कारण फैलिएको महामारीको उत्पतिका विषयमा पछिल्ला दिनमा भएका बहसले ‘सार्स–कोभ २’ भाइरस ल्याबबाट बाहिर निस्किँदा कोरोना भाइरसको संक्रमण फैलिएको शंका गरेको पाइन्छ । ‘सार्स–कोभ २’ भाइरस चीनको वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट बाहिरिएको आशंका गरिएको छ ।

उक्त ल्याब कोरोना भाइरस सम्बन्धी अध्ययन गर्ने केन्द्र भएका कारण पनि भाइरस त्यही ल्याबबाट चुहिएको आशंका गरिएको हो । इन्स्टिच्युटमा संक्रामक रोग परीक्षण गर्ने धेरै ल्याब पनि रहेका छन् जसलाई ‘बायोसेफ्टी लेभल ४ (बीएसएल–४)’ ल्याब पनि भनिन्छ । ती ल्याबहरू उपचारको कुनै विधि अथवा भ्याक्सिन नभएका खतरनाक रोगसँग जुध्न बनाइएको हो ।

पछिल्लो विवादले बायोसेफ्टी, बायो सेक्युरेटीजस्ता विवाद पुनजागृत गरेको छ । यस्तै गम्भीर प्रकृतिको अनुसन्धान गर्दा अथवा त्यस प्रकारको अनुसन्धान गर्न ल्याब सञ्चालनमा ल्याउँदा दिनुपर्ने आवश्यक सजगताका विषयमा पनि बहस छेडिएको छ ।

अहिले यी विवाद धुवीकृत हुनुका साथै राजनीतीकरण भए पनि यी मुद्दाको महत्वका विषयमा हामीले नजरअन्दाज भने गर्नु हुँदैन । भाइरस बाहिर चुहिनुमा ल्याबको कुनै भूमिका नभए पनि यस प्रकारका विषयमा अतिरिक्त सावधानी अपनाउनुपर्ने हुन्छ ।

अमेरिकाको ‘बायोसेफ्टी एशोसियसन्स (एबीएसए)’ को तथ्यांकका अनुसार सन् २००३ यता अनुसन्धान हुँदै गरेका भाइरस चुहावटका चार वटा घटना भएका छन् तर त्यसले कसैलाई पनि संक्रमित गरेको छैन । ल्याबले आफ्नो अनुसन्धान सुरक्षित र जिम्मेवार तरिकाले गरेको छ छैन भन्ने चिन्ता नयाँ होइन । यसको प्रासङ्गिकता चीनको ल्याबमा हालै गरिएको विस्तृत अध्ययनले झनै खुलासा गरेको छ ।

खुला स्रोत अनुसन्धानका आधारमा हामीले ‘ग्लोबलवायोल्याब्सडटओआरजी’ लाई एक अन्तक्र्रियात्मक वेबसाइटका रूपमा विश्वभरका ‘बीएसएल–४’ प्रयोगशालाहरूको सूची सङ्कलन गरेका छौँ । हाम्रो अनुसन्धानले विश्वभर करिब ६० वटा ‘बीएसएल–४’ ल्याब रहेको पुष्टि गरेको छ । जसमध्येमा केही निर्माणका क्रममा छन् भने केही योजनामा परेका छन् । यस्ता ल्याब विश्वमा २३ देशमा छन् जसमध्ये बेलायतमा मात्रै सातवटा रहेको पाइएको छ ।

पछिल्लो समयमा बायोसेफ्टीको विषयमा चिन्ता व्यक्त गरिरहँदा कुल ल्याबको तीन चौथाई शहरी क्षेत्रमा रहेका छन् । यसमध्यमा आधाभन्दा बढी सरकारले सञ्चालन गरेको सार्वजनिक स्वास्थ्य संस्थामा रहेका छन् । बाँकी विश्वविद्यालयमा र बायोडिफेन्समा संलग्न सरकारी संस्थामा रहेको पाइएको छ ।

यसका अलावा केही थोरै संख्यामा निजी हिसाबमा पनि ल्याव सञ्चालनमा रहेका छन् । यी ल्याब कसले सञ्चालन गर्छन् भन्ने विषय छाड्ने हो भने यसको प्रयोग अत्यधिक घातक अथवा संक्रमणयुक्त रोगको उपचारका लागि गरिएको पाइन्छ । अथवा यी रोगका विषयमा आफ्नो ज्ञान बढाउन काम गरिरहेका चिकित्सकले यसको प्रगोग गरेका छन् ।

यी ल्याब सुरक्षित, उत्तरदायी र जिम्मेवार हिसाबमा सञ्चालन गर्न सकिने हाम्रो अध्ययनले देखाएको छ । ‘बीएसएल–४’ रहेका एक तिहाई देशले मात्रै बायोसेफ्टी र बायो सेक्युरिटीका क्षेत्रमा राम्रो अंक ल्याएका छन् । आणविक खतरा सम्बन्धी अध्ययन गर्ने ग्लोबल हेल्थ सेक्यिुरिटी इन्डेक्सले गरेको एक अध्ययनअनुसार यस्तो अंक प्रदान गरिएको हो ।

उक्त अध्ययनमा बीएसएल ल्याव भएका देशमा ल्याब सञ्चालनमा आवश्यक पर्ने पूर्वाधारको व्यवस्था छ अथवा छैन भन्ने आधारबाट अध्ययन गर्छ । हाम्रो अध्ययनले ‘बीएसएल–४’ ल्याब भएका तीन देशमा मात्रै सञ्चालन सम्बन्धी राष्ट्रिय नीति निर्माण गरिएको छ ।

‘बीएसएल–४’ ल्याब भएका अधिकांश देशसँग ‘गेन अफ फङ्सन’ सम्बन्धी नीति छैन । कोभिड १९ उत्पतिबारे भएको बहसको एक आधार यही हो । यसकारण पनि वुहान ल्याबबाट भाइरस चुहिएको हुनसक्ने विश्लेषण भएको पाइन्छ ।

‘बीएसएल–४’ ल्याब भएका अधिकांश देशसँग ‘गेन अफ फङ्सन’ सम्बन्धी कुनै नीति नै छैन । कोभिड १९ उत्पतिका सम्बन्धमा भएको बहसको एक आधार यही हो । यसै कारण पनि वुहान ल्याबबाट भाइरस चुहिएको हुनसक्ने धेरैले विश्लेषण गरेको पाइन्छ । यदि हामीले अहिलेको यो भाइरस ‘गेन अफ फङसन’ को परीक्षण गलत हिसाबमा हुँदा भएको भन्ने नपत्याए पनि यस प्रकारका काम भविष्यमा महामारीको कारण हुन सक्दैन भन्ने आधार भने छैन ।

हामी धेरैभन्दा धेरै देशले महामारीको तयारी र प्रतिक्रियालाई मध्यनजर राख्दै यस प्रकारका ल्याबको निर्माण गरून् भन्ने चाहन्छौँ । यसका अतिरिक्त ‘गेन अफ फङ्सन’ अनुसन्धान विधिबाट वैज्ञानिकहरूले भाइरसका विषयमा थप जानकारी हासिल गर्न सक्छन् । यस्तै, यो जनवारबाट मानिसमा संक्रमण हुन सक्ने खतरा अथवा मानिसबाट मानिसमा सर्न सक्ने खतरा कति हुन्छ भन्ने विषयमा पनि जानकारी हासिल गर्न सहयोगी सिद्ध हुन्छ ।

यो खतरनाक रोगसँग लड्न, सुरक्षा र सुरक्षा जोखिम दूर गर्न, उच्च राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक स्थापित गर्न तीव्र गतिमा अघि बढाउन आवश्यक हुन्छ । यसको शुरूवातका लागि उत्तम स्थान भनेको ‘बीएसएल–४’ ल्याब र अन्य ल्याब हो जसले खतरनाक रोगका विषयमा अनुसन्धान गर्छन् ।

यसले हालै अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ ३५००१ अनुसार विकास गरिएको बायो खतरा व्यवस्थापन गर्न सहयोग गर्छ । यो मापदण्डका लागि कुनै महँगो हार्डवेयरको जडान गर्नु आवश्यक हुँदैन । यसका लागि सेफ्टी र सेक्युरिटी रिक्स व्यवस्थापन गर्न विकास गरिएको पद्धतिले काम गर्छ । यो हाम्रो पहुँचमा रहेको मापदण्ड हो जसका विषयमा पहिला नै छलफल भइसकेको छ । यो छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ ।

राष्ट्रियस्तरमा ‘बीएसएल–४’ ल्याब भएका देशका सरकारले बहुआयामिक हिसाबमा जोखिम न्यूनीकरण गर्दै अनुसन्धानको सुरक्षा लगायतमा विषयमा जोड दिँदै त्यसले पु¥याउन सक्ने सम्भावित क्षतिका विषयमा ध्यान दिनुपर्छ । यस्तै ती देशले बायोलोजिकल हतियार सम्बन्धी अभिसन्धि जसका उनीहरू पक्ष राष्ट्र छन् त्यसलाई आफ्नो अनुसन्धानका विषयमा लगातार जानकारी दिनुपर्छ ।

अन्तर्राष्ट्रिय हिसाबमा हामी यस्ता संरचना व्यवस्थित गर्दै अधिकतम नियन्त्रण सुविधाको निगरानीमा राख्नुपर्ने सुझाव दिन्छौँ । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनलाई प्रत्यक्ष सहभागी गराउनुपर्छ । अमेरिकी र रसियाली ल्याबमा उत्पादन हुने दादुरा भ्याक्सिनकको बायोसेफ्टी र बायोसेक्युरिटीलाई प्रदान गरेको जस्तै सजगता विश्व स्वास्थ्य सङ्गठनले यसलाई पनि प्रदान गर्नुपर्छ ।

यसको अतिरिक्त विश्व स्वास्थ्य सङ्गठनले निरन्तरङ्गपमा बायो रिक्स सम्बन्धी व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समूहबाट समीक्षा गराउनुपर्छ जसमा सरकारी अधिकारी र गैरसरकारी क्षेत्रका विशेषज्ञ सम्मिलित हुन्छन् । अर्को विकल्प भनेको बायोसेफ्टी र बायोसेक्युरिटीका लागि अन्तर्राष्ट्रिय विशेषज्ञहरूको संख्या थप्नुपर्छ ।

अधिकतम नियन्त्रण प्रयोगशालाको निगरानी गर्ने संरचनाका अलावा अनुसन्धानको दोहोरो उपयोग, सम्भावित महामारीबाट बाच्न अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त दिशानिर्देश विकास गर्न विश्व स्वास्थ्य सङ्गठनको आवश्यकता हुन्छ ।

कोभिड–१९ हाम्रो भूमण्डलीकृत र आधुनिक विश्वको कमजोरीका विषयमा एक प्रकारको संकेत थियो । अब आउन सक्ने महामारीबाट बच्ने उपायका विषयमा सोच्ने सबै देशको प्राथमिकता बन्नुपर्छ । यस्तै खतरनाक रोगका विषयमासुरक्षित रुपमा अनुसन्धान गर्नुपर्ने रणनीति विकास गर्नुपर्छ ।

(डा. ग्रेगरी डी कोब्लेट्ज जर्ज मेसन विश्वविद्यालयमा बायोडिफेन्स ग्य्राजुएट कार्यक्रमका एसोसिएट प्राध्यापक र निर्देशक हुन् । डा. फिलिपा लेन्टजोस विज्ञान र अन्तर्राष्ट्रिय सुरक्षाकी लेक्चरर र लन्डन किङ्स कलेज अन्तर्गत विज्ञान र सुरक्षा केन्द्रकी निर्देशक हुन् । १५ जुन २०२१ मा द गार्जियनमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)