चिनियाँ कम्पनीकाे लापरबाहीले विपद निम्त्याएको

सेयर गर्नुहोस

बाह्रबिसे । चिनियाँ कम्पनीको लापरबाहीका कारण सिन्धुपाल्चोकमा विपद् निम्तिएको पाइएको छ । मेलम्ची क्षेत्र तहसनहस पार्ने गरी अचानक आएको बाढीलाई हिमताल विष्फोट भएको आशंका गरिएको भए पनि माथिल्लो भेगमा केही समयअघि नदीको प्रवाह रोकेको र त्यसकै कारण अहिले बाढी आएको निष्कर्षतिर सरकारी निकायहरु पुगेको बताइन्छ ।
अचम्मसँग त्यहाँको बाढीमा लेदो आएको थियो । त्यो कसरी आइपुग्यो भनेर अध्ययन अनुसन्धान भइरहेको छ । तर त्यसको पछाडि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापरबाही रहेको बुझिएको छ ।

त्यतिमात्र हैन सीआरसीसँगै स्थानीय जनप्रनितिनिधिको बेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित एउटा सिङ्गो बस्ती जोखिममा परेको छ ।
चीन जोड्ने कोदारी सडक निर्माणका क्रममा प्राविधिक विषयलाई बेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरीत निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको हो । जीटूजी सम्झौता अन्तर्गत सडक निर्माण गर्ने जिम्मा सीआरसीसीले पाएको छ । कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमीन भासिने र बग्ने समस्या भएको स्थानीयको भनाइ छ । जमीन भासिन थालेपछि गाउँलेहरु विस्थापित नै हुनु परेको छ ।

स्थानीय जनप्रतिनिधिको बेवास्ताको प्रमाण सचेत गरी पठाइएको पत्र र त्यसको कार्यान्वयन नहुनु हो । गत फागुन २६ गते गाउँपालिकामा निवेदन परेको थियो । कोदारी तातोपानी टोल सुधार समितिका अध्यक्ष साङ्गे लामाले निवेदन बुझाएका थिए । निवेदनमा लेखिएको थियो ‘यस भोटेकोशी गाउँपालिका २ अन्तर्गतका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सीआरसीसी नामक चिचियाँ ठेकेदार कम्पनीले निरन्तर रुपमा लापरवाही गरी गत भूकम्प पश्चात राजमार्ग पुनः निर्माण कार्य शुरु गरेको र गत वर्ष पनि स्थानीयले बारम्बार जानकारी सहित नभत्काउन अनुरोध गर्दा पनि यसै वडाका वडा अध्यक्ष दिपेन्द्रकुर्मा श्रेष्ठले २ महिनाभित्र पक्का वाल लगाउने भनी मौखिक प्रतिवद्धता जनाई झुक्काई पक्का पुरानो वालहरु भन्त्काई राजमार्ग माथिको गाउँहरु जोखिममा हुने गरी कार्य गरेको र गत वर्ष जस्तै फेरि पनि कच्चा ढंगले नयाँ निर्माण कार्य शुरु गर्न लागेको हुँदा सो कार्यको डीपीआर लगायत आवश्यक कानूनी प्रकृया पुर्याई कोदारी सिङ्गाको गाउँलाई जोखिम नहुने गरी कार्य गर्न यस क्षेत्रको सम्पूर्ण स्थानीयवासीको अनुरोधमा तपाई समक्ष यस समितिले नियमानुसार जाँचवुझ गरी पाउँ भनी यो विनम्र निवेदन पेश गर्दछौं ।’

तर यसको सुनुवाइ नै भएन । कोदारी बजारको तल्लो भागमा गत वर्ष नै निर्माण गरिएको एक सय मिटर बढी सडक भासिएको छ । तारजाली निर्माणका क्रममा भएको लापरबाहीका कारण यो समस्या आएको बताइन्छ । बाँध भत्किन थालेपछि कोदारी गाउँ जोखिममा परेको छ ।

कमसल निर्माणका विषयमा स्थानीयवासीले पटक पटक गुनासो गरे पनि जनप्रतिनिधिहरुले बेवास्ता गर्दै आएको उनीहरुको आरोप छ । त्यस क्षेत्रमा अरनिको राजमार्ग मर्मतका नाममा भइरहेको कमसल निर्माण कार्यले नदी कटान र पहिरोको समस्या देखिएको छ ।

जथाभावी दोहन गर्दा तातोपानीको कोप्लाङ्गमा निर्माण गरिएको सडक दुई महिना नपुग्दै बाढीले बगाएको छ । अघिल्लो वर्ष निर्माण गरिएको लिपिङ खोला पुलको दायाँपट्टीको जग पूर्ण रूपमा क्षति भएको छ भने बायाँ तर्फको जग पनि भत्कन थालेको छ । दायाँबायाँका घरहरु जोखिममा छन् ।

हुनत सिन्धुपाल्चोकमा प्राकृतिक विपद् निम्तिरहेको छ । २०७२ को भूकम्पले सिन्धुपाल्चोकलाई तहसनहस पारेको थियो । त्यसयता यस्तै कम्पनीहरुको लापरबाहीले प्रकृति हल्लाउने गरी गरिने डोजर आतंकका कारणले गर्दा विभिन्न गाउँहरु झन् खतरामा परेका छन् ।

विकासमा नाममा बिना कुनै गतिलो इन्जिनियरिङ हचुवामा चलाइने डोजरले सिन्धुपाल्चोकवासी चैनको निद्रा सुत्न नपाएको भन्दै स्थानीयले आक्रोश पोखिरहेका छन् । सिन्धुपाल्चोकमा विपद् अझै नटरेको भन्दै यस्ता गतिविधिहरु नरोकिए अझ ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ । हाम्राकुरा

Facebook Comments Box