नागरिकलाई घरमा थुनेर सत्ता जोगाउने खेलमा सरकार

सेयर गर्नुहोस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले कोरोना रोकथामका लागि ठोस् पहल गर्नुको सट्टा नागरिकलाई घरघरमा थुनेर सत्ता जोगाउने खेलमा लागेको आरोप लगाएको छ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै कांग्रेसका नेताहरूले यस्तो आरोप लगाएका हुन्। लकडाउनलाई नै सरकारले सत्ता जोगाउने सुरक्षा कवजको रुपमा प्रयोग गरेको निश्कर्ष बैठकले निकालेको छ। बैठकपछि संचारकर्मीसँग कांग्रेसका सहमहामन्‍त्री प्रकाशशरण महतले खोप ल्याउनका लागि गम्भीर पहल गर्नुको सट्टा सरकार लकडाउन लम्बाएर सत्ता जोगाउने चक्करमा लागेको बताए।

कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन कांग्रेस बैठकले माग गरेको जानकारी डा महतले दिए। कांग्रेसले बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ। उनले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताए ।

बिहीबारको बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल भएको थियो। पूर्व निर्धारित तालिक परिवर्तन गरेर भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ। तर कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेको छैन। क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, अलमल र ढिलाइले पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशन चुनौतीपूर्ण बन्दै गएको छ। आगामी महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ। तर अहिलेसम्म करिब ८ लाखले मात्र क्रियाशील सदस्यता लिएका छन्।
अन्नपूर्णापाेष्ट

Facebook Comments Box