२४ कार्तिक २०८१, शनिबार

सांसदको पूर्वाधार बजेट सडकमा

सनिउल्ला धोबी,चन्द्रौटा (कपिलवस्तु), मंसिर १४


कपिलवस्तुको क्षेत्र नम्बर-५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप साहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् । पूर्वाधार निर्माणमा अन्य क्षेत्र पनि प्राथमिकतामा राख्नुपर्नेमा सडकलाई मात्र चासो दिएपछि स्थानीयबासीले गुनासो गरेका छन् ।

कपिलवस्तुको क्षेत्र नं ५ मा सडकका लागि रु दुई करोड ५२ लाख ५० हजार विनियोजित गरिएको छ । त्यस्तै, नाली निर्माण, शौचालय निर्माण, बाउन्डरी र वृद्धाश्रम निर्माणका लागि सांसद साहले रु ५० लाख रकम विनियोजन गरेका छन् ।

क्षेत्र नं ५ को बहादुरगन्ज इलाका प्रहरी कार्यालयदेखि माडागाउँ हुँदै पकडी गाउँसम्म सडक स्तरोन्नतिका लागि रु ४० लाख रकम विनियोजित गरिएको छ । शिवराज नगरपालिका–८ धर्मनगरदेखि विसुनपुर जाने सडक कालोपत्रे सडकस्तर रु २५ लाख रकम छुट्याइएको छ । त्यस्तै, बहादुरगन्ज गाविसको वडा नं ८ डगरमरवाको अधुरो सडक कालोपत्रेका लागि रु ३० लाख रकम विनियोजित गरेको उनले बताए ।
शिवराज नगरपालिका वीरपुरदेखि लिंकरोडसम्म पिसिसी ढलान गर्नका लागि रु २७ लाख ५० हजार र कृष्णनगर नगरपालिका–२ बढैया लिंकरोडदेखि ढेकहरिसम्म सडक पिसिसी ढलान रु २० लाख विनियोजन गरिएको छ । शिवराज नगरपालिकाको पिपरी, महादेव शिवभारी, सेमरा सेलर मिलदेखि कुकरभुकवाभित्रका स्थानीय सडक मर्मत तथा भगवानपुर गाविसको ठकुरापुरदेखि बैदौलीसम्म सडक निर्माण गर्न रु १०÷१० लाख विनियोजित गरिएको छ ।

यसैगरी, विद्यानगरदेखि सौनहवा बकौली गाउँमा स्तरोन्नति गर्न रु २० लाख विनियोजन गरिएको छ । रामनगर गाविसको वडा नं ४, ५, ६ पटना गाउँको भित्री सडकमा इँटा सोलिङ गर्न, गणेशपुर गाविसको गेडुवाजोतदेखि रामनगर झिंगाहा आरटिओ सडकसम्म सडक निर्माण र कृष्णनगर नपा–१० रमवापुर गाउँभित्रको सडकमा पिसिसी ढलान गर्न, भगवानपुर गाविसको हरिहरपुर—ठकुरापुर— हृदयनगर—गुगौलीसम्म सडक निर्माण गर्न रु १०÷१० लाख विनियोजन गरिएको छ।

त्यस्तै, सांसद साहले पत्थरदेइया गाविस–२ परसहवाडिह गाउँमा नाली निर्माणको लागि रु १० लाख, रामगोरख उमावि, बहादुरगन्जको बाउण्ड्री वाल निर्माणमा रु १० लाख छुट्याएका छन् । कृष्णनगर नगरपालिका–५ मा सार्वजनिक सुलभ शौचालय निर्माणका लागि रु २० लाख र कृष्णनगरको झण्डेनगरमा वृद्धाश्रम निर्माण रु १० लाख विनियोजन गरेको बताए।

प्रत्यक्ष निर्वाचित सांसद्ले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा रु तीन करोड, निर्वाचन क्षेत्र विकास कार्यक्रममा थप रु ५० लाखका दरले बजेट पाउँछन् । त्यस्तै, समानुपातिकतर्फका सांसद्ले निर्वाचन क्षेत्र विकासका लागि रु ५० लाख बजेट पाउँछन् । जिल्ला विकास समितिको कार्यालयमार्फत् कार्यान्वयन हुने दुवै शीर्षकको कार्यान्वयन गर्न मङ्सिर मसान्तसम्ममा योजना पेस गरिसक्नुपर्ने प्रावधान छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सांसद साह मात्र होइन, देशैभरि सडक निर्माणमा अधिकांश बजेट खर्च हुने गरेको छ । नतिजा देखाउन तथा छिटो काम सक्न सजिलो हुने भएकोले धेरै सांसदको रोजाइ सडक हुने गरेको हो । रासस

धेरै कमेन्ट गरिएका