विजयनगरमा म्याद बजारमा ‘एक्सन’ मोड : नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुको विजयनगर गाउँपालिकाले बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्यान्न तथा अवैध रूपमा बिक्रीका लागि राखिएका ३० हजार रुपैयाँ भन्दा बढी मूल्यका सामग्री जफत गरी नष्ट गरेको छ । गाउँपालिकाकाे प्राङ्गणमामा नियमानुसार उक्त सामग्रीहरु नष्ट गरिएको हाे ।
बिहीबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विजयनगर गाउँपालिका-४ त्रिपालनगरस्थित ७ ओटा पसल तथा व्यवसायबाट म्याद नाघेका खाद्यान्न, सुर्तीजन्य पदार्थ, किराना सामग्री, तेल, मसला, कस्मेटिक सामग्री, पेट्रोल, पेय पदार्थ तथा अवैध औषधी बरामद गरेकाे थियो ।
अनुगमनका क्रममा टोलीले पसल दर्ता भए-नभएको, व्यवसायीले स्थानीय तहमा बुझाउनुपर्ने राजश्व तिरे-नतिरेको तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातको समेत तथ्यांक संकलन र जाँच गरेको गाउँपालिका राजश्व शाखा प्रमुुख अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार पसल दर्ता बिना सञ्चालनमा रहेका तथा कर दायित्व पूरा नगरेका व्यवसायहरूलाई अनिवार्य पसल दर्ता गर्न, कर बुझाउन र दर्ताका लागि आवश्यक प्रक्रिया बारेसमेत जानकारी गराइएको थियोे ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका सामग्री बिक्रीवितरणका लागि राखिएको पाइएपछि ती सामान जफत गरेको जनाएको छ । जफत गरिएका खाद्य तथा उपभोग्य सामग्रीहरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ निर्देशिका बमोजिम नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले बजारमा उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने, म्याद नाघेका तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने व्यवसायीमाथि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।
अनुगमन टाेलीमा ४ का वडा अध्यक्ष तिलकराम कँडेल, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, कार्यपालिका सदस्य दमन्ती राना, गाउँपालिका लेखा प्रमुख खुविराम पन्थी, प्रहरी चाैकी ठाकुरापुरका इन्चार्ज पुष्कर सिंह कुँवर लगायतकाे टाेलीले पसलहरुमा अनुगमन गरेको थियोे ।
