बालेन अनुपस्थित रहेको अभिमुखीकरणमा रविले किन निकाले गुटबन्दी प्रसंग ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठन प्रक्रियामा व्यस्त छ, तर पार्टीभित्र रवि लामिछाने र बालेन शाहबीच शक्ति संघर्षको चर्चा चलेको छ।
नवनिर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा बालेनको अनुपस्थिति र रविले गुटबन्दी नगर्न दिएको चेतावनीले विवादलाई थप उजागर गरेको छ।
पार्टी र सरकारबीचको सम्बन्ध व्यवस्थापन गर्न नसक्दा रास्वपालाई चुनौती रहेको र यसले पुरानो राजनीतिक दलको जस्तै अवस्था निम्त्याउन सक्ने विश्लेषण गरिएको छ।
काठमाडौँ । भर्खर सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नयाँ सरकार गठन प्रक्रियामा व्यस्त देखिएको छ ।
पार्टी स्थापना भएको तीन वर्षको अवधिमा परम्परागत राजनीतिक दललाई विस्तापित गरी शक्तिशाली सरकार बनाउने प्रक्रिया अगाडि बढिरहँदा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबिच शक्ति संघर्ष सुरु भएको चर्चा चलेको छ । नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा बालेन सहभागी नभएपछि दुई नेता बिचको सम्बन्धमा थप प्रश्न उब्जाएको छ ।
रास्वपाले ललितपुरस्थित ग्वार्कोमा दुई दिने आवासीय अभिमुखिकरण कार्यक्रम राखिएको थियो । कार्यक्रमको उद्देश्य नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्नु, सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नु, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट गराउनु र संसद्, सरकार, निर्वाचन क्षेत्रबिच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउनु रहेको थियो ।
तर पार्टीले नै तयार पारेको कार्यसूचीमा सभापति रविको नाम राखिँदा भावी सरकारको नेतृत्व गर्न लागेका बालेनको नाम राखिएन । बुधबार समापन समारोहमा पनि सभापति रवि मात्रै सहभागी भए । समापन मन्तव्यमा उनले गुट बनाएर एमाले र कांग्रेसलाई जित्न नसक्ने चेतावनी दिए । विभिन्न स्वार्थ समूहमा लागेर गुनबन्दी गरिएको पाइएमा जिम्मेवारीबाट मुक्त हुन सक्ने रविको अभिव्यक्ति थियो ।
‘पुराना राजनीतिक दललाई नेपाली जनताले ३५ वर्ष कुरे । तपाईं हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्न तयार छैनन् । यो कुरा निर्धक्क हुनुहोला,’ उनले भने, ‘अब तपाईंहरूको दौड स्वार्थ समूहको घर–घरमा होइन । गुट बनाएर कांग्रेस र एमालेलाई जित्न सकिँदैन साथीहरू । कुनै गुट बनाउन सकिँदैन । घन्टीमुनि सबै अटाउन सक्छौँ । घन्टीमा त्यतिधेरै तागत छ ।’
रविले आफ्नो पोजिसन के हुन्छ ? म कहाँ हुन्छु ? पार्टीमा मेरो हैसियत के हुन्छ ? संसद्, सरकारमा मेरो हैसियत के हुन्छ ? जस्ता ‘म’ केन्द्रित राजनीतिबाट बाहिर निस्किन सकिएन पुराना राजनीतिक दलहरूको भन्दा पनि अवस्था कमजोर चेतावनी दिए ।
‘देशको राजनीति आजसम्म व्यक्ति केन्द्रित भयो । यहाँ सहिदको आमा छन् । कुनै पनि विचौलियासँग एक कप चिया खाँदा सहिदलाई सम्झिनुहोला । यो देशमा विचौलियको विगविगी छ । हामी मिल्न सकेनौँ भने स्वार्थको बन्दी बन्यौँ बल्ल समस्या पर्ने हो । जिम्मेवार पदमा पुगेर पनि पुरानै शैलीबाट चल्छु भन्नुभयो भने बाहिरिन सक्नुहुन्छ,’ उनले भने ।
पार्टीभित्र सम्बन्धमा दरार ल्याउन विभिन्न स्वार्थ समूह, विचौलिया सक्रिय हुने भएकाले त्यसतर्फ सर्तक रहन उनले आग्रह गरे । यद्यपि कार्यक्रममा वरिष्ठ नेता अनुपस्थित नभएको विषयमा केही बताएनन् । जेनजी आन्दोलनपछि कमजोर हुँदै गएको पार्टीलाई पुनस्र्थापित गर्न रविले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेनसँग पुस १३ गते पार्टी र सरकार सञ्चालन गर्ने सम्बन्धमा ७ बुँदे सहमति गरेका थिए ।
बहिरमुखी स्वभावका रवि र अन्तरमुखि स्वभावका बालेनबिच भएको सहमतिले पार्टीलाई यो उचाइमा पुर्याएकोमा कसैको दुई मत देखिँदैन । तर चुनावी परिणाम सार्वजनिक भएपछि उपसभापति डोलप्रसाद अर्याल, सचिवालय सदस्य हरि ढकाल लगायत जिम्मेवार नेताहरूले बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा अस्पष्ट जिवाफ दिएका कारण राजनीतिक बृत्तमा सशंय देखिको छ । आइतबार केन्द्रीय कार्यालय घन्टी घरमा बसेको सचिवालय बैठकमा समेत बालेन सहभागी भएनन्, रविले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
अभिमुखी कार्यक्रममा बालेन सहभागी नभएको सम्बन्धमा प्रवक्ता मनिष झाले अस्वस्थ भएकाले कार्यक्रममा सहभागी नभएको जिकिर गरे । बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले यसमा कुनै राजनीतिक अर्थ लगाउनुपर्ने आवश्यक नभएको स्पष्ट पारे ।
‘अहिलेको अवस्थामा स्वास्थ्य लाभ र आराम गर्नुपर्ने अवस्थामा भएकाले यसमा कुनै राजनीतिक अर्थ लगाउनुपर्ने आवश्यकता छैन । यो व्यवहारिक र शारिरीक कुरा हो । दुवै जना सहभागी नहुँदा उपस्थिति कमजोर हुन्छ भनेर सभापति सहभागी हुनुभएको हो,’ उनले भने ।
सचिवालय सदस्य गणेश पराजुलीले स्वास्थ्य अवस्थाका कारण सहभागी नभएको जिकिर गरे । स्वास्थ्य लाभ बाहके सरकार सञ्चालनको रणनीति बनाउनुपर्ने भएकाले पनि सहभागी नभएको पराजुलीले स्पष्ट पारे ।
‘पहिलो कुरा स्वास्थ्यमा समस्य छ । दोस्रो जिम्मेवारी काँधमा आउँदै गर्दा रणनीति बनाउने कुरा स्वभाविक हो,’ उनले भने ।
सहमहामन्त्री विपिन कुमार आचार्यले बाहिर आएको जस्तो रवि र बालेनबिच सम्बन्धमा कुनै दरार नभएको दाबी गरे । पुराना राजनीतिक दलहरूले काम गर्न सकेनन् भनेर वैकल्पिक राजनीतिको नेतृत्व गरेको पार्टी भएकाले त्यसमा सजग रहेको आचार्यले बताए ।
‘पार्टी एउटै भएकाले आन्तरिक शक्ति सन्तुलन गर्ने भन्ने हुँदैन । मन्त्रालयको जिम्मेवारी सम्बन्धमा कुनै छलफल भएकै छैन । विवाद पनि देखिएको छैन,’ उनले भने, ‘पार्टी कमजोर बनाउन, सम्बन्धमा दरार ल्याउनका लागि विभिन्न हल्ला हुन सक्छन् । तर त्यस्तो हल्लामा कुनै सत्यता छैन ।’
नेपालमा परम्परागत राजनीतिक दलको विकल्पमा वैकल्पिक शक्तिलाई पनि राजनीतिको मूल प्रवाहमा ल्याउन सकिने आत्मविश्वासका साथ तीन वर्ष अगाडि रास्वपा स्थापना भएको थियो । पार्टी स्थापनाको पाँच महिनामै २०७९ सालको आम निर्वाचनमा सहभागी भएको रास्वपाले ११ लाख ३० हजार बढी लोकप्रिय मतसहित २१ सिट जिते राजनीतिको मूल धारमा स्थापित भएको थियो । स्थापना कालमा सानो टिमबाट सुरु भएको रास्वपा अहिले विवेकशील साझा, बालन समूह, थरुहट/थारुवान, विभिन्न जेनजी समूहसँग एकता गरी विशाल पार्टी बनाएको छ ।
निर्वाचनको मुखमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसी दलहरूबाट पार्टी प्रवेश गरी निर्वाचन जित्नेको संख्या प्रशस्त रहेको छ । पछिल्लो समय पदाधिकारी तहमै सभापति रवि, उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले समूह सक्रिय रहेको बुझिएको छ । लामो राजनीतिक पृष्ठभूमि र परिपक्क नेतृत्व नभएका कारण पनि जनताले दिएको अभूतपूर्व जनविश्वासलाई कायम राख्न अप्ठ्यारो पर्न सक्ने विश्लेषक बताउँछन् । प्राध्यापक कृष्ण पोखरेल पार्टी र सरकारबिचको सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा समस्यामा आउन सक्ने बताउँछन् । २०१५ साल, २०५१ साल, २०५६ सालमा पार्टी र सरकारबिच सम्बन्ध व्यवस्थापन नभएकै कारण कांग्रेसको बहुमत सरकार गिरेको उदाहरण उनले दिए । ०१५ सालमा नेपाली कांग्रेसका जननिर्वाचित बीपी कोइरालाको सरकार थियो । तर सरकार र पार्टीभित्र आन्तरिक किचलो रहेकै बेला २०१७ सालमा राजा महेन्द्रले सरकार अपदस्त गरिदिएका थिए ।
‘पार्टी र सरकारबिचको सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा २०१५ सालमा बीपी नेतृत्वको दुई तिहाइ सरकार गिर्यो । २०४८ र २०५६ सालमा पनि कांग्रेसले बहुमत पायो । तर व्यवस्थापन गर्न नसक्दा सरकार पनि ढल्यो । पार्टी पनि विभाजन भयो । त्यस्तै २०७४ सालमा नेकपाले झण्डै दुई तिहाइ मत प्राप्त गर्यो । त्यो पनि पार्टी र सरकारबिच सम्बन्ध व्यवस्थापन नहुँदा सरकार ढल्यो । पार्टी पनि विभाजन भयो,’ उनले भने ।
कुनै राजनीतिक पृष्ठभूमि नभएको रास्वपाले प्रचण्ड बहुमत पाएकाले विभिन्न स्वार्थ समूहलाई मिलाएर लैजान चुनौतिपूर्ण भएको पोखरेलको विश्लेषण छ ।
‘विचार, राजनीति र सिद्धान्तमा आधारित भएका राजनीतिक दलहरूले त काम गर्न सकेनन् । कुनै पनि राजनीतिक पृष्ठभूमि नभएका रास्वपा विभिन्न स्वार्थ समूहबाट बनेको छ । त्यसलाई व्यवस्थान गरेर जान रवि र बालेनले सक्नुभयो भने राम्रो हुन्छ,’ उनले भने ।
