कपिलवस्तु क्षेत्र ३ : काे हुन त प्रबल उम्मेदवार ?
कपिलवस्तु , माघ १० । जिल्लाकाे कपिलवस्तु क्षेत्र न : ३ मा चुनावी हलचल बढेसंगै चाैकचाैराहा र मुख्य बजारमा प्रतिनिधि सभा निर्वाचन २०८२ काे परिणामबारे आकलन शुरु भएकाे छ।
चार दशकदेखि नेपाली कांग्रेसमा सक्रिय राजनिति गर्दै आएका तर पार्टीभित्र तालमेल नमिलेपछि पार्टी छाेडेर एमालेमा प्रवेश गरि सुर्य चिन्हबाट चुनावि मैदानमा पुगेका विरेन्द्र कुमार कनाेडिया नेकपा एमालेकाे संगठनका हिसाबले मजबुत देखिन्छन । विजयनगर गाउंपालिकाका मेयर गाेपाल थापाकाे लाेकप्रियता तथा कृष्णनगरमा एमालेका दुई निवर्तमान प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता र सराज अहमद फारुकीकाे उपस्थितिले पनि भाेटमा प्रभाव पार्ने देखिन्छ । त्यस्तै शिवराजमा पुरानो राजनीतिक घराना कुदरबेटवाकाे पनि एमालेलाई नै समर्थन रहेकाे बुझिएकाले बिरेन्द्र कुमार कनाेडिया प्रतिस्पर्धामा रहने आकलन गरिदै आएकाे छ । तर उनिमाथि महालक्ष्मी सुगर मिलले उखु किसानकाे अनुदान रकम नदिएकाे भनी लागेकाे आराेपले क्षेत्रबासीलाई भ्रमित बनाएकाे छ । उनले साे आराेपकाे खण्डन गरेपनि बेलबखत उखु किसानकाे अनुदान रकम उपलब्ध गराउनका लागि काठमाडौं केन्द्रित आन्दोलन भईरहेका छन । त्यसैगरि २०७४ काे निर्वाचनमा कानाेडियाले उखु किसानका लागि सानाे खडसारी मिल , सिचाइका लागि बाेरिङ्ग , अस्पताल लगायतका मुद्दा बांडेर प्रदेश सदस्य जीतेका थिए तरपनि पूरा गर्न नसकेकाे आराेप क्षेत्रभरि फैलिएको छ । जसले गर्दा २०७९ काे निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजितसमेत हुनुपरेकाे थियाे ।
पुस्ताैंदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीसंग जाेडिएर हिन्दु राष्ट्रका लागि राजनीति गरिरहेकाे परिवार यसै क्षेत्रकाे शिवानगर रजाैरिया परिवारका प्रकाश रजाैरिया यसपालीकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा हाेमिएका छन । २०७९ काे प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट चुनाव लडेका रजाैरियालाई तिनकै पार्टीका प्रदेशसभा सदस्य जानकी यादव र शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाकाे पनि सपाेर्ट थियाे। यसपाली भने दुवै जना छुट्टिएका छन । पुरानाे राजनीतिक बिरासतसमेत रहेकाे क्षेत्र ३ काे उत्तरका पहाडी समुदायमा पनि पकड जमाउदै रजाैरिया अहिले देशैभरि चलिरहेको हवा “घण्टी” चुनाव चिन्हबाट अघि बढेका हुन । उनीमाथि राप्रपालाई छाेडेर अन्य पार्टी राेजेकाे भनी अवसरवादीकाे आराेप लागेकाे छ भने काठमाडौं बसेर निर्वाचनका बेलामात्र देखा पर्नेलाई कसरी मत दिने भनि तथ्य समाजिक संजालमा भाइरल भईरहेका छन। आफ्नै परिवार कै सदस्य पुष्पा रजाैरिया राप्रपाबाट प्रतिनिधि सभा सदस्य समानुपातिककाे बन्दसुचीमा सिफारिस भएकी छिन उनी क्षेत्रमा राप्रपाकाे भाेट माग्दैछिन त्यसले गर्दा पनि मतदाता दुईधारमा बाडिएका छन। तर अर्काेतिर प्रकाश रजाैरिया र तिनका समर्थक बालेन र रविकाे क्रेजलाई क्यास गरि मतदाता लुभाउने प्रयासले क्षेत्रमा खटिरहेकाे स्राेतले जनाएको छ।
लगभग सत्र बर्षदेखि प्रत्यक्ष राजिनितिमा सक्रिय पुर्व सांसद एवं संविधानसभा सदस्य अभिषेक प्रताप शाह पनि नेपाली कांग्रेस बाट चुनावी पिचमा भाेट बटुल्ने प्रयासमा छन । उनी क्षेत्रकाे सबभन्दा पुरानाे राजनीतिक घराना शाह परिवारका सदस्य हुन र २०६४ काे संविधानसभा निर्वाचनमा देशकै कान्छाे सांसदका रुपमा निर्वाचित भएका थिए । त्यसपछि युवाका बीच निकै चर्चित चेहराका रुपमा स्थापित भएका छन । नेपाली कांग्रेसबाट टिकटका लागि कपिलवस्तुका क्षेत्रिय र जिल्ला कार्यसमितिले सिफारिस नगरेपछि अर्कै दलमा जाने भनी क्षेत्रमा आकलन बढेकाे थियाे । उनले अन्तिम समयमा टिकट ल्याई मनाेयन दर्तामा निकै रजगजका साथ पुगेका थिए । शाह ३ पटक प्रत्यक्ष निर्वाचित सांसद हुन । पछिल्लो निर्वाचनमा एमालेका उम्मेदवार निर्वतमान सांसद मंगलप्रसाद गुप्ताबाट कम मतान्तर ३ हजार ६ सय ३७ मतले हार वेहाेरेका शाह गल्ती सुधार गरि क्षेत्र मै बसेर सर्वसाधारणसंग मेलजाेल बढाएका छन । नेता शाह आफ्ना क्षेत्रमा विभिन्न गतिविधि लगायत सामाजिक कार्यक्रममा देखा पर्छन तर कहिलेकाहीँ समाजिक संजाल लगायत विभिन्न मिडियामा सामाजिक सद्भाव विगार्ने जस्ता अभिव्यक्तिले क्षेत्रभित्र उनीमाथि केही असन्तुष्टि बेलाबेखत सजिलै देख्न सकिन्छ। उनका पहलमा क्षेत्रमा सुधाराेन्मुख शिवराज अस्पताल र राघ वेन्द्र गाैरव बहुमुखी क्याम्पस संचालनमा आएपनि सुधार हुन नसकेकाे आराेप खेप्दै आएका छन । उनलाई कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह र ३ बर्ष क्षेत्रमा सर्वसाधारणका बीच पुगेर बनाएका जनसम्पर्कमाथि आत्मविश्वास छ । जेन्जी आन्दोलनलाई नैतिक समर्थन गरेका शाह ले देशकाे नेतृत्व युवाकाे हातमा हुनुपर्नेमा जाेड दिदै आएका छन ।
मधेश आन्दोलनदेखि नै मधेश केन्द्रित राजनीतिमा सक्रिय पुर्व राज्यमन्त्री समेत बनिसकेका इश्वरदयाल मिश्रले राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टीबाट चुनावमा प्रचारप्रसारमा छन । उनी तीन दल जनता समाजवादी पार्टी नेपाल , राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालकाे संयुक्त चुनाव चिन्ह “जाताे” बाट निर्वाचनमा हाेमिएका हुन । पुर्वमन्त्री मिश्रलाई कपिलवस्तु क्षेत्र ३ (क) काे प्रदेश सभा सदस्य निर्वाचनमा झिनाे मतान्तरले हार वेहाेरेका राष्ट्रिय मुक्ति पार्टीका नेता रविदत्त मिश्र र जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठान लगायत केही थारु नेताकाे पनि समर्थन रहेकाे छ । भाैतिक याेजना तथा पुर्वाधार राज्यमन्त्री हुंदा मिश्रले जिल्लाकाे पश्चिम क्षेत्र विभिन्न बाटाे लगायत आफ्नाे गाउं कर्मा हुँदै जाने सडक निर्माणसमेत गराएका थिए । क्षेत्रका अरु याेजनाहरुमा समेत तिनकाे प्रत्यक्ष अप्रत्यक्ष रुपमा समन्वयकारी भुमिका रहेकाे छ । संविधानसभा निर्वाचनबाट सभासद र राज्यमन्त्री हुन पुगेका मिश्र त्यसपछिकाे निर्वाचनहरुमा हार वेहाेर्दै आएकाले यस निर्वाचनमा पनि जित्नेनै हुन भनी जनमानसमा
शंका उत्पन्न भई मतदातालाई भ्रमित बनाई रहेकाे चर्चा छ ।
माओवादी नेता एहसान खां पनि माधव कुमार नेपालकाे दल समाजवादी पार्टी , प्रचण्डकाे माओवादी केन्द्रकाे एकीकरणबाट बनेकाे नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बनेर चुनावमा उत्रेका छन । खासगरि मुस्लिम मतदातामा मजबुत पकड रहेकाे तत्कालीन माओवादी केन्द्रबाट टिकट लिई निर्वाचनमा हाेमिएकाले भाेट काउन्ट बढ्ने संकेत देखिएकाे छ। कपिलवस्तु क्षेत्र नम्बर ३ नै द्वन्द्वकालका बेला माओवादी विरुद्ध प्रतिकारमा उत्रेकाे थियाे । तर अहिले परिस्थिति फरक छ प्रत्यक्ष राजनीतिमा आएपछि माओवादी केन्द्रले स्थानीय तरमा संगठन मजबुत बनाउदै अघि बढेकाे छ। त्यसकाे फाइदा पनि खांले पाउने क्षेत्रमा चर्चा चलेकाे छ।
प्रतिनिधि सभा निर्वाचनका स्वतन्त्र उम्मेदवार पत्रकार चिन्ता बहादुर दर्जी , बिपल्व नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार विनाेद लुइँटेल लगायत अन्य साना दलका उम्मेदवार पनि चुनावी रणभुमीमा व्यापक प्रचारप्रसारमा खटिएका देखिन्छन । अहिलेकाे निर्वाचनमा उम्मेदवार र तिनका समर्थकहरुले समाजिक संजाललाई बढी फाेक्स गरेका हुनाले काे सही व काे गलत छुट्याउन मतदातालाई सकस पर्ने देखिन्छ । कपिलवस्तु क्षेत्र ३ मा कुल १ लाख १८ हजार ४ सय ४ मतदाता रहेका छन ।
