रवि, कुलमान र बालेन मिल्ने प्रयास

सेयर गर्नुहोस

रवि, कुलमान र बालेन मिल्ने प्रयास

काठमाडौँ । जेनजी विद्रोहपछि देशको राजनीति परम्परागत र नयाँ राजनीतिक दलहरूबिच ध्रुवीकृत हुने सङ्केत प्रस्ट देखिएको छ । सोमबार बिहान पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली महाराजगञ्जस्थित देउवा निवास पुगे ।

जेनजी विद्रोहको बलमा राज्य सत्ता गुमाएका ओली र देउवाबिच संसद् पुनर्स्थापना, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल र सम्भावित सत्ता समीकरणको विषयमा छलफल भएको बुझिएको छ ।

देउवा र ओलीको सहमति अनुसार नै कांग्रेस र एमालेले विघटित प्रतिनिधि सभाका १४३ सांसदको हस्ताक्षरसहित संसद् पुनर्स्थापनाको मागसहित मंगलबार सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेका छन् ।

मंसिर ६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गरे पनि सभापति देउवा पछिल्लो समय संसद पुनर्स्थापनासम्बन्धी ओलीको प्रस्तावमा सहमत भएका छन् । संसद् पुनर्स्थापनाको पक्षमा अलमल देखिएका देउवालाई विश्वस्त पार्न ओलीले पटकपटक उनीसँग भेट गरेका छन् ।

जेनजी आन्दोलनपछि पहिलो पटक ओलीले मंसिर १९ गते देउवालाई उनकै निवास महाराजगञ्जमा भेट गरेका थिए । यी दुई शीर्ष नेताबिच छलफल भएपछि कांग्रेसका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेसहित ८ जना सांसदले मंसिर २३ गते संसद् पुनर्स्थापनाको मागसहित अदालतमा रिट निवेदन दिएका थिए । एमालेले मंसिर ९ गते नै रिट निवेदन दिइसकेको थियो ।

यता देउवा र ओलीलाई चुनौती दिँदै सोमबार बेलुका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहबिच पाँच घण्टा सघन छलफल भएको छ । रास्वपाका केन्द्रीय सदस्य असिम शाहको कार्यालय कमलपोखरीमा बेलुका ८ बजेबाट सुरु भएको छलफल राति १ बजे सकिएको थियो । बैठकपछि रवि र बालेन एउटै गाडीमा मुस्कुराउँदै बाहिरिएका थिए ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहले छलफल सकारात्मक भएको बताए । ‘भेटघाट आवश्यकता थियो । देशको आवश्यकता पनि त्यही हो । रवि र बालेन मिलेर जाउन् भन्ने सबैको भावना अनुसार भेट भएको हो । देश बनाउन मिलेर जानुपर्छ भन्ने कुरा भएको छ । रवि र बालेन मिलेर देश बनाउनु पर्छ भन्ने सन्देश यसले दिएको छ,’ उनले भने ।

देशलाई आवश्यक परेको खण्डमा सबै मिलेर अगाडि बढ्ने कुरा भएको जिकिर गर्दै उनले भेटवार्ता सकारात्मक रूपमा अन्त्य भएको र आगामी दिनमा निरन्तरता पाउनेमा आफू विश्वास्त रहेको बताए ।

बैठकमा रास्वपाबाट शाह, रवि, उपसभापति डीपी अर्याल लगायतका नेता सहभागी थिए । अर्को पक्षबाट बालेन, उनका सहयोगी कुमार बन लगायत सहभागी थिए ।

यद्यपि दुई जनाबिच के–के सहमति भयो भन्ने कुरा दुवै पक्षले गोप्य राखेका छन् । यस विषयमा रवि र बालेनले समेत कुनै प्रतिक्रिया दिएका छैनन् । रास्वपाका अर्का नेता गणेश पराजुलीले देशमा विद्यमान पुराना राजनीतिक दलहरूको सिन्डिकेट तोड्न रवि र बालेन एक ठाउँमा उभिएको बताए ।

पराजुलीले रास्वपा वैकल्पिक शक्तिहरूको मूलधारको पार्टी भएकाले आगामी निर्वाचनमा बालेन, कुलमान घिसिङ, हर्क साम्पाङजस्ता परिवर्तन पक्षधरलाई साथ लिएर अगाडि बढ्ने स्पष्ट पारे । ‘बालेनजी कन्भिन्स नभएसम्म हत्तपत्त कोहीसँग भेट्ने व्यक्ति होइन । राजनीतिक दलको नेताको हिसाबले रविजीसँग पनि पहिलो पटक भेट भएको हो,’ उनले भने, ‘दुई जना एक ठाउँमा आउनुले नै राजनीतिमा नयाँ सन्देश दिएको छ ।’

पराजुलीले रवि कारागारबाट बाहिरिएपछि पुराना राजनीतिक दलहरू आत्तिएको आरोप लगाए । फागुन २१ मा तोकिएको निर्वाचन सार्ने कुचेष्टा भइरहेको भन्दै उनले जेनजी आन्दोलनको मर्म र जनभावनालाई सम्बोधन गर्न ताजा जनादेशको विकल्प नभएको स्पष्ट पारे ।

रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनालले दुई जनाबिच भएको भित्री कुराबारे आफूलाई जानकारी नभएको स्पष्ट पारे । ‘रवि र बालेन एक ठाउँमा आउनु आफैँमा सकारात्मक कदम हो, तर भित्र के–के छलफल भयो, मलाई पनि जानकारी छैन,’ उनले भने ।

तारेख बुझ्नका लागि मंगलबार चितवन गएका रवि काठमाडौँ फर्किएपछि ऊर्जामन्त्री समेत रहेका उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफल गर्ने योजना रहेको खनालले जानकारी दिए । पुराना बाहेक परिवर्तनका पक्षधर सबै नयाँ पार्टीसँग सहकार्य गरेर जाने पार्टीको योजना रहेको उनको भनाइ छ ।

पार्टी नै कब्जा गर्ने खालको प्रस्ताव आएकाले उज्यालो पार्टीसँग एकताको सम्भावना सकिए पनि चुनावी तालमेलको सम्भावना कायमै रहेको खनालले स्पष्ट पारे ।

मंगलबार चितवन पुगेका रविले नयाँ र वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउनका लागि संवादमार्फत प्रयास जारी राखेको बताए । ‘महत्त्वपूर्ण कडीको रूपमा हामी अगाडि बढ्ने गरी संवाद सुरु भएको छ । कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा छलफल भएकै छैन । पहिला थाहा हुनुपर्‍यो । के कस्तो छ भनेर एकअर्कालाई बुझ्नु पर्‍यो । त्यसमा हतार नगर्नोस् । बिस्तारै चरणमा प्रवेश गर्दै जान्छौँ,’ उनले भने ।

सुदन गुरुङसँग कुराकानी भइसकेको जानकारी दिँदै उनले समय मिलाएर कुलमान घिसिङसँग पनि कुरा गर्ने बताए । ‘सबैलाई एक ठाउँमा ल्याउन रास्वपाले प्रयास गर्छ । यो हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

यसअघि जेलबाट रिहा भए लगत्तै चितवन र केन्द्रीय कार्यालय वनस्थलीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै रविले नयाँ शक्ति एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने आम चाहना र परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा आफू कुनै पनि कदम चाल्न तयार रहेको बताएका थिए ।

नयाँ शक्तिलाई एक ठाउँमा ल्याउने पार्टी नीति अनुसार नेपालमा वैकल्पिक शक्तिको सूत्रधार मानिएको विवेकशील साझा पार्टीसँग यसअघि नै रास्वपाले एकता गरिसकेको छ । जेनजीको अभिभावकत्व लिने दौडमा रहेको रास्वपाले विभिन्न समूहलाई एकत्रित गर्ने योजना अगाडि बढाएको छ ।

जेनजीका विभिन्न समूहको साथै निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलहरूसँग पनि रास्वपाले वार्ता जारी राखेको छ । सहमहामन्त्री विपिन कुमार आचार्यले समय नै तोकेर भन्न नसकिए पनि केही दिनभित्र वैकल्पिक राजनीतिले निर्णायक मोड लिने विश्वास व्यक्त गरे ।

‘हामी जनताबाट अनुमोदित मूलधारको राजनीतिक पार्टी हौँ । जेनजीको भावना, वैकल्पिक राजनीतिको आवश्यकतालाई मनन् गरी सबै नयाँ शक्तिसँग पार्टीले छलफल गरिराखेको छ । दिन र मिति नै तोकेर अहिल्यै केही भन्न नसकिएला, तर केही दिनमा निर्णायक सुखद् खबर पाउनुहुन्छ,’ उनले भने ।

सबै आन्तरिक कुरा बाहिर ल्याउँदा परिस्थिति बिग्रन सक्ने तथा मिडिया ट्रायल हुनसक्नेतर्फ सचेत रहँदै पार्टीले केही महत्त्वपूर्ण कुरा ‘होल्ड’मा राखेको रास्वाका नेताहरूको जिकिर छ ।

ध्रुवीकरणको सम्भावना छ ?
राजनीतिक विश्लेषक भीम भुर्तेलले जेनजी विद्रोहका कारण सिर्जित परिस्थितिमा कांग्रेस र एमाले एक ठाउँमा आउनु बाध्यताजस्तो देखिए पनि राजनीतिक ध्रुवीकरण भन्न नमिल्ने तर्क गरे ।

‘शान्तिपूर्ण तरिकाले १–२ लाख मान्छे सडकमा निस्किए भने फेरि राष्ट्रपतिले राजनीतिक निर्णय भनेर राजनीतिक रूपले नै सुल्झिन्छ । यसलाई अदालतले केही गर्न सक्दैन । मलाई लाग्छ, त्यसैले आन्दोलनको तयारी गर्ने र जनप्रदर्शन गर्ने कुरा देउवा र ओलीबिच भइरहेको हुन सक्छ,’ उनले भने ।

अर्कोतिर बालेन, रवि र कुलमानहरूले फागुन २१ गते चुनाव हुने विश्वासका साथ तालमेल गरेर जाउँ भन्ने उद्देश्यले एक ठाउँमा आएको हुन सक्ने भुर्तेलको बुझाइ छ । जेनजी आन्दोलनले उनीहरू ‘डिस्क्रेडिट’ भएको उनले बताए । ‘मान्छे मरेका छन्, तोडफोड भएको छ’, उनले भने, ‘त्यसैले एउटा प्रिटेक्स्ट क्रिएट गरेर भ्रष्टाचार भएको कुरालाई अघि सारिएको छ । पुराना शक्तिलाई चुनावमार्फत किनारा लगाएर हामी आउने हो भने एक हुनुपर्छ भन्ने उद्देश्यले भेटघाटलाई तीव्र बनाएको देखिन्छ ।’

अर्का राजनीतिक विश्लेषक केशव दाहालले एउटा घटनाले नै पुराना दलहरू एकातिर र नयाँ दलहरू अर्कोतिर हुने विश्वास नभएको बताए । ‘राजनीतिक दलहरू पुरानो एकातिर र नयाँ अर्कोतिर हुन्छन् भन्ने मलाई लाग्दैन । किनभने पुराना कुनै विचारको हिसाबले, विभिन्न ध्रुवमा बाँडिएका छन्,’ उनले भने ।

‘लिबरल डेमोक्रेसी’ मा विश्वास गर्ने कांग्रेसजस्तो पार्टी, अलिकति परम्परावादी कम्युनिस्टहरू, राजतन्त्र मान्ने राजावादी, गणतन्त्र विरोधी राजनीतिक शक्ति, मधेसलाई आधार मानेका केही क्षेत्रीय पार्टीसमेत रहेको जिकिर गर्दै उनले यी सबै पुराना पार्टी एक ठाउँमा आउँछन् जस्तो आफूलाई नलागेको बताए ।

नयाँ भनिएका दलहरूको पनि विचार र एजेन्डा फरक रहेको जिकिर गर्दै दाहालले फरक–फरक मोटिभेसन रहेकाले पुराना एकातिर र नयाँ अर्कोतिर ध्रुवीकरण हुन्छ भनेर भन्न नमिल्ने तर्क गरे । – राताेपाटीबाट

Facebook Comments Box