विजयनगरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते
कपिलवस्तु, विजयनगर, पुस ७
विजयनगर गाउँपालिका–१ कुकुरभुकवा र नेवलगन्जा बीचको सडकखण्डमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।आज करिब साँझ करिब ५ बजेको समयमा भएको उक्त दुर्घटनामा भारत, बलरामपुर जिल्ला चन्दनपुर गाउँ निवासी अर्पण थारु चालक रहेको भारतीय मोटरसाइकल (यु.पी. ४७ एच ७७०९) मा सवार तीन जना घाइते भएका छन्। मोटरसाइकलमा सवार नौमिक थारु र रमन थारु पनि दुर्घटनामा परेका हुन्।त्यसैगरी, नेपाली मोटरसाइकल नम्बर लु ६४ पा २५९ चालक शिवराज नगरपालिका–९ निवासी भिखुराम चौधरी पनि रहेका छन्।दुर्घटनामा भारतीय मोटरसाइकल चालक अर्पण थारु र सवार दुई जनाको घुँडामा चोट लागेकाले उनीहरूलाई प्रारम्भिक उपचारका लागि बद्दौर आधारभूत अस्पताल लगिएको थियो। थप उपचारका लागि उनीहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल रेफर गरिएको छ।नेपाली मोटरसाइकल चालक भिखुराम चौधरीलाई भने सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले जानकारी दिएका छन्।
