डा. मोहम्मद साजिद अहमद अलीमी भारत नेशनल अवार्ड शोमा सम्मानित

सेयर गर्नुहोस

मुम्बई, मंशिर ३।
मुम्बईस्थित अल इण्डिया इन्स्टिट्युट अफ लोकल सेल्फ गभर्नमेन्टको सम्मेलन हल मा १८ नोभेम्बरमा सम्पन्न भारत नेशनल अवार्ड शोमा डा. मोहम्मद साजिद अहमद अलीमी ले आफ्नो उपस्थिति र व्यक्तित्वले कार्यक्रमलाई विशेष बनाएका छन्। फिल्मफेरको ब्यानरअन्तर्गत आयोजित उक्त कार्यक्रममा टाइम्स अफ इन्डियाका वरिष्ठ पत्रकार, सर्वोच्च तथा उच्च अदालतका न्यायाधीशहरू, सेन्सर बोर्डका सदस्य, चर्चित चलचित्र कलाकार, निर्माता तथा समाजसेवीहरू उपस्थित थिए।

समारोहमा डा. साजिदको नाम घोषणा हुनेबित्तिकै हल ताली र सम्मानले गुञ्जिएको थियो, जसले उहाँको साहित्यिक तथा शैक्षिक योगदानको उच्च मूल्यांकन प्रकट गर्‍यो।

डा. साजिदको पुस्तक “थ्याङ्क यू फर द पेन” ले यस वर्ष भारत, नेपाल र अन्तर्राष्ट्रिय वृत्तमा उल्लेखनीय लोकप्रियता हासिल गर्‍यो र यही कृतिले उहाँलाई भारत नेशनल अवार्डको सम्मानमञ्चसम्म पुर्‍याएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमपछि मिडियाले उहाँलाई घेरेर विभिन्न प्रश्न राख्यो। सोही क्रममा एउटा पत्रकारले भारतमा मुसलमानहरूको पहिचान अझै पनि अजमल कसाबजस्ता पात्रसँग किन जोडिन्छ भन्ने प्रश्न उठाए। हल केही क्षण शान्त भयो। डा. साजिदले मुस्कुराउँदै उत्तर दिए कि यस्तो मानसिकता विशेष राजनीतिक लाभ र मतध्रुवीकरणका निम्ति बनाइएको प्रवृत्ति हो, जुन गुजरातका घटनापछि व्यवस्थित रूपमा बढाइयो।
उहाँले टीपू सुब्बा, अब्दुल हमीद, अशफाकउल्लाह खान, अल्लामा फजल हक खैराबादी र मुफ्ती इनायत अहमद काकोरी जस्ता वीरहरूको योगदान पनि समान रूपमा प्रस्तुत हुनुपर्ने तर त्यस्तो नहुने बताउँदै केही समूहले घृणा र विभाजनलाई राजनीतिक शक्ति बनाएको टिप्पणी गरे।

उहाँको स्पष्ट र साहसी उत्तरले धेरै पत्रकारहरू प्रभावित भए, र केहीले निजी भेटमा “डा. साजिदले त्यो विषयमा खुला र निडर ढङ्गले बोले, जुन कुरामा ठूला–ठूला चिन्तकहरू पनि हिच्किचाउँछन्” भनेर प्रतिक्रिया व्यक्त गरे।

प्रेस सम्मेलनमा धार्मिक सद्भाव, युवापुस्ताको भविष्य, मिडियाको भूमिका, सामाजिक विभाजन, र बढ्दो कट्टरताजस्ता विषयमा पनि प्रश्न सोधिए। प्रत्येक प्रश्नमा डा. साजिदको तर्कपूर्ण, शिष्ट र प्रभावकारी जवाफले उहाँको व्यक्तित्वलाई केवल लेखक मात्र होइन, एक सामाजिक चिन्तकका रूपमा उजागर गर्‍यो।

कार्यक्रममा उपस्थित धेरै फिल्म निर्माता तथा कलाकारहरूले डा. साजिदसँग भेटघाट गर्दै पुस्तकको सामग्री, त्यसको प्रभाव र त्यसमा चलचित्र निर्माणको सम्भावनाबारे चासो देखाए। केही निर्माताहरूले “थ्याङ्क यू फर द पेन” मा फिल्म स्क्रिप्ट बन्ने पर्याप्त गहिराइ रहेको बताएका थिए।

समारोहले डा. साजिदको उपस्थितिले मुम्बईको साहित्यिक वातावरणमा उल्लेखनीय छाप छोडेको बताइयो। उक्त सम्मानले उहाँले नेपाल र भारत मात्र होइन, समग्र दक्षिण एसियाली बौद्धिक परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाइरहेको संकेत गरिएको छ।

रिपोर्टका अनुसार, अवार्ड समारोहको भोलिपल्ट डा. साजिदको विशेष प्रेस सम्मेलन मुम्बईमै आयोजना हुनेछ, जहाँ देशभरका विभिन्न मिडिया संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रेस सम्मेलनपछि उहाँ मुम्बईबाटै लन्डन प्रस्थान गर्नेछन्, जहाँ उहाँलाई वर्ल्ड रेकर्ड बुक तर्फबाट विशेष अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिनेछ।

समग्रमा, थ्याङ्क यू फर द पेन” र डा. मोहम्मद साजिद अहमद अलीमीको यात्रा अझै धेरै महत्त्वपूर्ण चरणहरूतर्फ अघि बढिरहेको प्रस्ट संकेत देखिन्छ।

Facebook Comments Box