भर्चुअल संसार, समाज र मेरो सामाजिकीकरण

सेयर गर्नुहोस

केहि समय अघि मैले एउटा लेख लेखेको थिए जसको शीर्षक थियो “भर्चुअल भावना” । लेखको निष्कर्ष थियो हामी सबै सबै संवेदनाहिन बन्दै गयौं, मात्रै भर्चुवालिटीलाई ईन्टरफेस गरेर सामाजिकीकरणको प्रहसनमा लिप्त भयौं । म समाजका अव्ययवहरुलाई शान्त रहेर बडो नजिकबाट नियाल्ने मान्छे । पछिल्लो एक महिना मेरा लाई धेरै सिकाईको श्रोत बन्यो, कारण हाम्रो सामाजिकीकरणलाई बडो नजिकबाट नियाल्ने अवसर जो मिल्यो । म मधेसी समुदायको बिचको टुपुक्क एक दुई घर मध्येको अल्पसंख्यक पहाडी परिवारको सदस्य । सम्भवतः यहि जन्मिएको र हुर्किएको कारण मलाई यहाँको भाषा, संस्कृती र संस्कार सँग छुट्टै माया छ । मेरो समाज सँगको सामाजिकीकरणको उपलब्धी मेरा जीवनमा कुनै समस्या आए अपवाद बाहेकका सबै गाँउबासी मेरा लागी लाठी उठाउन तयार हुन्छन । तर, त्यो परिस्थिति नआओस् ।
पछिल्लो १० देखी १२ बर्षको जीवनको भाग दौड कारण मैले कमै मात्र गाउँमा समय दिए । तर यो एक महिना मैले पुरा धेरै समय आफ्नै वर्दहवा गाउँमै दिए । हिजो मैले देखेका धेरै बाबु नानीहरु अहिले नौजवान भै सकेछन् । पछिल्लो एक महिना करिब भदौको मध्य यता चोरी र लुटपाटका घटना सिमावर्ती भारतीय क्षेत्रमा भएको चर्चा र परिचर्चाका कारण हाम्रो टोल समाज पनि चनाखो हुन पुग्यो । छरछिमेक रात्रीकालिन पहरा र गस्तीमा बस्न थाले । पहरा शुरु भएको एक दुई दिन पछि मैले गाउँले रातभर जाग्राम बसेर पहरा गरेको थाहा पाए । म पनि बुझ्न गए । छिमेकका धेरैले मलाई मेरो गाउँमा बोलाउने नामले भन्नु भो “सुगम बाबु तु सुतो टेन्सन न लेव । कुछ परि तो तु हैयहव । हमरनके कौनो टेन्सन नाहिँ हय ।” । पर्दा यसले निस्वार्थ गर्छ भन्ने विश्वासले होला वा म नेता नभएकाले म प्रतिको बिश्वास पनि ।

छिमेकीहरुले म प्रति देखाएको हार्दिक बाट अनुग्रहित हुदै गर्दा कता कता मनमा लाग्यो “यो उहाँहरुको म प्रतिको बिश्वास हो, यसलाई मैले टुटनदिनु हुदैन । ” । मान्छेको योग्यता क्षमता जे सुकै होस । पहिलो आफन्त र हितैषी तिनै छिमेकी हुन जो हरेक दुखः सुखमा काम लाग्छन् । सामाजिकीकरणको सिद्धान्त पनि त्यहि हो । प्रस्ताव बिनै म छरछिमेकी सँग जोडिए । पछिल्लो एक महिनाको रात्रीकालिन पहरा गस्तीमा म एउटा सदस्यको रुपमा सहर्ष सरिक भए । यद्यपी म सुरक्षा निकायको निरन्तर सम्पर्कमा थिए । तर यस बिचमा मैले जीवनमा केहि नयाँ अनुभव सँगाल्न पाए । सामाजिक सञ्जाल, जमघटमा बडे बडे सैद्दान्तिक कुरा गर्नेहरुको सामाजिकीकरण कम्प्लीट जिरो रहेछ । सोसल मिडियामा ठुला ठुला गफ हान्नेहरू यति सम्म अव्यवहारिक भएछन् कि कुनै भाव नआउने अवस्थामा पुगेछन् । छिमेकी रातभर आफ्नो घर वरिपरि बसेर सुरक्षा दिदा पनि एक दिन मुख नदेखाउने फन्टुस प्रवृत्ति । अनुभुति गरे सबै तिर यस्तै रहेछ ।

समाज हिजो जस्तो निस्वार्थ छैन, सामाजिक र राजनितिक छवी देखिएका पात्रको ग्राउण्ड लेबल एकदमै खोक्रो छ । छिमेकको एउटा पनि मान्छेले अन्तर आत्माले मन पराउँदैन, तर उ शक्तिमा भएका कारण प्रतिक्रिया दिदैन । आफ्नो पेशा र पहुँचका आधारमा छर छिमेकलाई अनावश्यक दुखः दिएर आजित पारेको मान्छे समेत सामाजिक सञ्जालमा अति समाजसेवि हुँ जस्तो प्रदर्शन गर्दो रहेछ, मज्जाले बुझने अवसर मिल्यो । हुन त, समाजले ति फन्टुस लाई बुझन नि समय लाग्दो रहेछ ।
यिनै अनुभवका बिच मैले एक महिनामा धेरै सम्बन्धहरु रिकभर गरेको छु । मैले साना साना देखेका बाबुहरू अहिले काका, दाई भन्दै म सँग झ्याम्मिन थालेका छन । मैले पनि चिनक भैयाको छोरा, रियाजुद्दिन भाई, शम्भु भाई, रजिउल्लाह भैयाको छोरा सँग बडो नजिक बाट जोडिन पाएको छु । गाउँमा थपिएका नयाँ घर, घरका मूली र ति परिवारका जिएनजीहरु सँग जोडिन पाएकोमा खुसी छु ।
बस एक महिनाको घुमफिरको मेरो एउटै निष्कर्ष छ “अब सामाजिकरण भर्जुवल होईन, भावनात्मक हुनुपर्छ । ” ।

Facebook Comments Box