ऐतिहासिक पोखरीहरू पछिल्ला दिनहरूमा फोहोर र दुर्गन्धले ग्रस्त

सेयर गर्नुहोस

धनुषा- मधेशको शान र पहिचान मानिने मधेश प्रदेशको राजधानी जनकपुरधामका ऐतिहासिक पोखरीहरू पछिल्ला दिनहरूमा फोहोर र दुर्गन्धले ग्रस्त बन्न पुगेका छन्। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेका यी पोखरीहरूको संरक्षणमा बेवास्ता हुँदा स्थानीयवासी मात्र नभई मिथिलाको सम्पूर्ण पहिचान नै संकटमा परेको देखिएको छ।

जनकपुरधामस्थित गंगासागर, धनुषसागर, र अन्य ऐतिहासिक पोखरी वरपर फोहोरको थुप्रो देखिन थालेको छ। पोखरीमा जम्मा भएको मैलो पानी र सरसफाइको अभावले गर्दा दुर्गन्ध फैलिएको छ भने आसपासका क्षेत्रमा बिरामी हुने खतरा समेत बढेको छ।

यस्तै अवस्था देखेर महिला सामाजिक अभियन्ता आशिका तामाङले शनिबार पोखरीहरूको मैदानी अनुगमन गर्नुभयो। अनुगमनपछि उहाँले पोखरीहरूको यो दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल सुधारका लागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

तामाङले भन्नुभयो — “जनकपुरधामका पोखरीहरू केवल पानीको स्रोत मात्र होइनन्, यसले हाम्रो संस्कृति, हाम्रो मिथिला सभ्यता र हाम्रो पहिचानलाई बोकेको छ। यसलाई संरक्षण गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो।”

उहाँले विशेष गरी स्थानीय सरकार, नगरपालिकाका सरसफाइ विभाग र धार्मिक संस्थाहरूसँग सहकार्य गरेर पोखरीको सफाइ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

स्थानीय बासिन्दाले पनि वर्षौंदेखि सरसफाइको कमी र सम्बन्धित निकायको उदासीनताले गर्दा पोखरीको सौन्दर्य हराउँदै गएको गुनासो गरेका छन्। मिथिला समाज र जनकपुरधामको पर्यटन सम्भावना नै यसरी खतरामा परेको उनीहरूको भनाइ छ।

यसै सन्दर्भमा अभियन्ता आशिका तामाङले मिथिलावासी सम्पूर्णलाई अपिल गर्दै भन्नुभयो —

“हामी सबैले आफ्नो पहिचान बचाउन पोखरीको संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्छ। मिथिला हाम्रो गौरव हो, यसलाई हामीले नै जोगाउनुपर्छ।”

Facebook Comments Box