फोहरको डंगुरमा हरियो वन, बिरामी जनावर र धुवाँमा डुबेको नगर: जिम्मेवार को?

सेयर गर्नुहोस

भदौं ६

थालेश्वर अर्याल , अच्युत / कपिलवस्तु । – बुद्वभुमी नगरपालिका–१ मा रहेको सामुदायिक वन क्षेत्रको छेउ मै वर्षौंदेखि सञ्चालनमा रहेको फोहर डम्पिङ साइटले अहिले गम्भीर वातावरणीय, जैविक र मानवीय संकट उत्पन्न गरिरहेको छ।

डम्पिङ साइट सडकको किनारमै रहेकाले दैनिक आवतजावत गर्ने सर्वसाधारण नागरिक, हजाराैं विद्यार्थी, र स्थानीय बासिन्दा दुर्गन्धले पीडित छन्। खोलिएको फोहर, छरपस्ट प्लास्टिकजन्य वस्तु अनियन्त्रित जलाउने कार्यले धुवाँको साम्राज्य बसाउँछ कहिले घाम लाग्दा गन्हाउँछ, कहिले बेलुकामा आगलागी हुन्छ।
यस क्षेत्रमा गाईवस्तु मात्र होइन, बनेल, हरिण जस्ता वन्यजन्तु आहार खोज्दै आइरहेका छन्। उनीहरू फोहरमै खानेकुरा खोज्दा विषाक्त वस्तु खाएर बिरामी बन्ने, मृत्यु हुने अवस्था देखिएको छ। अझ चिन्ताजनक कुरा यिनै वन्यजन्तुहरूलाई जाल थापेर अवैध शिकार गर्नेको सक्रियता देखिएको छ, जुन राज्यको वन तथा वातावरणीय सुरक्षामाथि सीधा चुनौती हो।

नगरपालिकाको जिम्मेवारी कहाँ हरायो?

नगरपालिका कार्यपालिका धेरै पटक फेरिए, तर डम्पिङ साइटको समस्या उस्तै। न त फोहर व्यवस्थापनमा दीर्घकालीन योजना बनाइयो, न त स्थानान्तरणकै चर्चा छ । वातावरणीय मूल्यांकन नगरिएको, जनस्वास्थ्यको ख्याल नराखिएको, नत वन्यजन्तुको सुरक्षा सुनिश्चित गरिएको छ।

जिल्ला वन कार्यालय किन मौन?

सडक छेउको सामुदायिक वन क्षेत्रमा फोहर फालिँदा, प्लास्टिक खाँदा वन्यजन्तु मर्ने, शिकारका गतिविधि बढ्दा समेत जिल्ला वन कार्यालयले चासो नलिनु गम्भीर लापरबाही होइन र? संरक्षणको जिम्मा लिएको निकाय नै गैरजिम्मेवार बनेपछि जनताको भरोसा कहाँ जाओस्?

वातावरण विभागको नजर कहाँ छ?
यस क्षेत्रमा पटक–पटक आगलागी हुने, दुर्गन्ध फैलिने, धुवाँको कारण सास फेर्न गाह्रो हुने स्थिति आउँदा समेत वातावरण विभागबाट अनुगमन, मूल्यांकन वा हस्तक्षेप भएको कुनै प्रमाण छैन। यस्तो हेलचक्र्याइँले “हरित विकास” भन्ने नारामाथि प्रश्नचिन्ह खडा भएको छ।
स्थानीयको प्रश्न: कहिले सुध्रन्छ व्यवस्था?
स्थानिय बासिन्दा भन्छन्, “हामी चुप बस्दा उनीहरूले बेवास्ता गर्छन्, बोल्दा सुनँदैनन्। आखिर हामीले कहिलेसम्म सहने?”
स्थानियहरुको माग
डम्पिङ साइट तत्काल स्थानान्तरण गरियोस्।
फोहर व्यवस्थापनमा वैज्ञानिक र वातावरणमैत्री विधि अपनाइयोस्।
वन्यजन्तुको सुरक्षाको सुनिश्चितता गरियोस्।
डम्पिङ साइट वरपरको क्षेत्र ‘संवेदनशील क्षेत्र’ घोषणा गरियोस्।

Facebook Comments Box