लोकतान्त्रिक मोर्चालाई कमजोर पार्न अशोक र सीकेलाई प्रयोग गरियो’
लोकतान्त्रिक मोर्चालाई कमजोर पार्न अशोक र सीकेलाई प्रयोग गरियो’
काठमाडौँ । तराई मधेसका सात दलसम्मिलत सङ्घीय लोकतान्त्रिक मोर्चा कमजोर पार्न सत्ता गठबन्धन नै लागेको गठबन्धनमा आबद्ध दलहरूले निष्कर्ष निकालेका छन् । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने तथा २०८४ को आम निर्वाचनमा मोर्चामा रहेका दलहरू एकीकृत भएर अगाडि बढ्ने भएपछि सत्ता गठबन्धन त्यसलाई कमजोर बनाउन लागेको मोर्चामा आबद्ध दलका नेताहरूले आरोप लगाएका हुन् ।
मोर्चाका एक घटक जसपा नेपालका महासचिव रामकुमार शर्माले मोर्चालाई कमजोर बनाउन सत्ता गठबन्धनले सुरुमै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मोर्चाबाट अलग गरेको जिकिर गरे । अहिले डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीलाई पनि अलग पारेको उनले दाबी गरे । उनले भने, ‘अशोकजी र सीकेजीको पार्टीलाई मोर्चाबाट अलग गर्नु सत्ताधारी दलको षड्यन्त्र हो । उहाँहरू सत्ताको गोटी बन्नुभयो ।’
सुरुमा मोर्चामा आठ दलको सहभागिता रहेको थियो । मोर्चा गठनको हरेक प्रक्रियामा अशोक राई नेतृत्वको जसपाको सहभागिता हुन्थयो । जसपाले दलहरूसँग छलफल गर्नका लागि वार्ता समिति पनि बनाएको थियो । तर, चैतमा जब मोर्चा घोषणा गर्ने मिति तय भयो, जसपा त्यहाँबाट अलग भयो ।
त्यस्तै, मोर्चामा सहभागी भएर दुई तीन वटा बैठकमा समेत सहभागी भइसकेको जनमत पार्टी पनि अहिले अलग भएको छ । मोर्चाबाट अलग भएको औपचारिक घोषणा जनमतले गरेको छैन तर बैठक तथा कार्यक्रमहरूमा जान छाडिसकेको छ ।
रुपन्देही–३ मा साझा उम्मेदवार बनाउने निर्णय गरेपछि जनमत पार्टीले मोर्चाबाट दूरी बनाउन थालेको हो । यदि जनमत पार्टीले मोर्चा नछाडेको भए मधेस प्रदेशको सरकार छाड्नुपर्ने थियो, त्यही भएर पार्टी दबाबमा परेको हुनसक्ने मोर्चाका एक नेताले बताए ।
जसपा नेपालका महासचिव शर्माले सीके राउतले आफ्नो सरकार जोगाउनकै लागि मोर्चा छाडेको दाबी गरे ।
मोर्चामा सक्रिय भएपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले जनमत पार्टीले मधेस प्रदेश सरकारबाट हटाउने चर्चा सुरु भएको थियो । प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिएको थियो । कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा नै यसको घोषणा पनि गरिसकेको थिए । तर मोर्चा छाडेसँगै जनमतलाई सरकारबाट निकाल्ने कुरा अहिले सेलाएको छ ।
जसपा नेपालका महासचिव शर्माले सीके राउतले आफ्नो सरकार जोगाउनकै लागि मोर्चा छाडेको दाबी गरे । उनले भने, ‘मोर्चामा सहभागी भएको भए सरकार छाड्नुपर्थ्यो, आफ्नो मन्त्री जोगाउन जनमत सरकारमा सहभागी भएन ।’
यो कुरा मोर्चाको बैठकमा मात्र होइन, मोर्चाले अहिले प्रदेशका विभिन्न सहरमा भइरहेको कार्यक्रममा पनि उठ्ने गरेको छ । सरकारलाई सबभन्दा ठुलो भय मधेसी र थारु मिलेकोमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले बताए ।
लोकतान्त्रिक मोर्चामा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ । मधेसी र थारु यसरी सङ्गठित भएको पहिले अवसर हो । ‘रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई मधेस केन्द्रित दलहरूले साथ दिँदैछन् । नेपाली राजनीतिमा भएको यो पहिले घटना हो । यसले मधेसी र थारु मिलेको सन्देश दिएको छ,’ महासचिव झाले भने, ‘त्यही भएर यसलाई अलग गर्न र कमजोर पार्न षड्यन्त्र भइरहेको छ ।’
मोर्चालाई कमजोर गर्ने काम वर्तमान सत्तारुढ गठबन्धनबाट भइरहेको कुरा कसैबाट नलुकेको उनले दाबी गरे ।
उनले विगतमा पनि थारु र मधेसी मिल्नका लागि पटक–पटक प्रयास भए पनि राज्यले विभिन्न षड्यन्त्र गरेर त्यसलाई रोकेको दाबी गर्दै अहिले पनि त्यही प्रयास भइरहेको जिकिर गरे ।
महासचिव झाले सीके राउत नेतृत्व पार्टीको बारेमा अहिले मोर्चाले कुनै निर्णय नगरेको बताए । ‘मोर्चामा रहने कि नरहने निर्णय गर्ने जिम्मा सीके राउतकै हो,’ उनले भने, ‘मोर्चाले कसैलाई कारबाही वा हटाउने काम गर्दैन, बरु जोड्ने काम गर्छ । तर कोही हट्न चाहन्छ भने त्यसलाई मोर्चाले रोक्दैन ।’
मोर्चालाई कमजोर गर्ने काम वर्तमान सत्तारुढ गठबन्धनबाट भइरहेको कुरा कसैबाट नलुकेको उनले दाबी गरे । उनले भने, ‘मोर्चालाई कमजोर बनाउन त्यति सजिलो छैन, मोर्चा सङ्गठित भएर अगाडि बढिसकेको छ । अन्य दलहरू पनि त्यसमा आबद्ध हुने प्रतिबद्धताहरू जनाइसकेका छन् ।’
मोर्चाले सात वाटै प्रदेशमा सरकारको भण्डाफोर कार्यक्रम आयोजना आयोजना गरिरहेको छ ।
