गत आर्थिक वर्षमा बागलुङ ट्राफिकले उठायो एक करोड ३१ लाख राजश्व

सेयर गर्नुहोस

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत आर्थिक वर्ष २०८१/०८२ मा ‘ट्राफिक’ नियम उल्लङ्घन गरेका सवारीहरूबाट एक करोड ३१ लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गङ्गाराम विकका अनुसार एक वर्षको अवधिमा कुल १५ हजार आठ सय ३५ वटा सवारीहरूमाथि गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो। आर्थिक वर्ष २०८०/०८१ मा कुल एक करोड २१ लाख ७१ हजार पाँच सय रुपैयाँ राजश्व उठेको बागलुङमा गत आर्थिक वर्षमा ८.१२ प्रतिशतले वृद्धि हुँदै उक्त राजश्व उठेको हो।

प्रहरी नायव निरीक्षक विकका अनुसार साउनमा नौ सय ७० सवारीहरूबाट आठ लाख ४१ हजार, भदौमा एक हजार एक सय ७४ सवारीहरूबाट नौ लाख ६६ हजार, असोजमा एक हजार एक सय ८४ सवारीहरूबाट नौ लाख ५८ हजार, कात्तिकमा एक हजार सात सय ४५ सवारीहरूबाट १४ लाख सात हजार, मङ्सिरमा एक हजार छ सय ९६ सवारीहरूबाट १४ लाख २७ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ।

यस्तै पुसमा एक हजार पाँच सय ३८ सवारीहरूबाट १२ लाख १२ हजार पाँच सय, माघमा एक हजार चार सय २१ सवारीहरूबाट ११ लाख ७६ हजार, फागुनमा एक हजार तीन सय ८८ सवारीहरूबाट ११ लाख ७७ हजार पाँच सय, चैतमा एक हजार पाँच सय ५२ सवारीहरूबाट १२ लाख ९९ हजार पाँच सय, वैशाखमा एक हजार दुई सय ७६ सवारीहरूबाट ११ लाख सात हजार, जेठमा नौ सय ५८ सवारीहरूबाट सात लाख ९८ हजार र असारमा नौ सय ३३ सवारीहरूबाट सात लाख ९० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ।

सवारीअनुसार हेर्दा सबैभन्दा बढी राजश्व छ हजार दुई सय ९५ वटा कार तथा जिपलाई गरिएको कारबाहीबाट ५२ लाख २५ हजार रुपैयाँ उठेको छ। यस्तै एक हजार पाँच सय ९४ वटा ट्रक÷टिप्परबाट १३ लाख ९३ हजार पाँच सय, सात सय १३ वटा बसबाट पाँच लाख ९४ हजार पाँच सय, नौ सय ६७ वटा ट्र्याक्टरबाट सात लाख १४ हजार पाँच सय, छ हजार ६१ वटा मोटरसाइकल तथा स्कुटरबाट ५० लाख ६८ हजार र दुई सय पाँच वटा अन्य सवारीहरूबाट एक लाख ६४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख विक ले बताए। थाहा खबर

Facebook Comments Box