मकवानपुर जिल्ला अदालतमा चारैजना महिला न्यायाधीश

सेयर गर्नुहोस

हेटौंडा : मकवानपुर जिल्ला अदालतमा हाल चारैजना महिला न्यायाधीशले न्यायिक नेतृत्व सम्हालिरहेका छन्।

हाल अदालतको प्रमुख न्यायाधीश (नम्बर १) मा अवनी मैनाली भट्टराई छन् भने नम्बर २ मा गीता श्रेष्ठ, नम्बर ३ मा शकुन्तला कार्की र नम्बर ४ मा पूर्णिमा कोइराला कार्यरत छन्।

न्यायाधीश भट्टराई २०८० फागुनमा मकवानपुर जिल्ला अदालतमा कार्यरत भइन्। पूर्णिमा कोइराला २०८१ वैशाखमा, गीता श्रेष्ठ र शकुन्तला कार्की २०८१ साउनमा मकवानपुर आएका हुन्।

न्यायाधीश भट्टराईले आफूहरू पुरुषभन्दा कम नभएको बताइन्। उनले भनिन्‚ ‘हामी पुरुषभन्दा कम छैनौँ भनेर भनिरहेका छौं। पुरुषहरूले कहिल्यै प्रमाणित गर्नुपर्दैन हामीले सधैँ प्रमाणित गरेर देखाउनुपर्छ।’

उनले न्यायाधीशको कुनै लिंग, जात र रंग नहुने भन्दै महिला न्यायाधीश भनेर फरक तरिकाले बुझ्न नहुने बताइन्। न्यायाधीश शकुन्तला कार्कीले आफूहरूले राज्यले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सक्षम भएको बताइन्।

चार महिला न्यायाधीशले मकवानपुर जिल्ला अदालत सम्हालेपछि चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट सफल भएका छन्।

वार्षिक मुद्दा फर्स्योट लक्ष्य २ हजार ७३९ राखेकोमा अदालतले २ हजार ८८६ मुद्दा फर्स्योट गर्न सफल भएको छ।

अदालतकी स्रेस्तेदार रोशी भण्डारीका अनुसार जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५९७ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५५३ गरी कुल ४ हजार १५० मुद्दा रहेका थिए।

तीमध्ये चालू आर्थिक वर्षको असार ३० गतेसम्म अदालतले लगतको आधारमा ६९.११ प्रतिशत मुद्दा फर्स्योट गरेको छ भने लक्ष्यको आधारमा १०४.७१ प्रतिशत रहेको जानकारी गराइएको छ।

अनुसार अब १ हजार २८२ मुद्दा फर्स्योट हुन बाँकी छ। ती मध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा छन्।

मकवानपुर जिल्ला अदालतमा ४ जना न्यायाधीश मात्रै होइन स्रेस्तेदार समेत महिला रहेका छन्। कुल ६० जना कर्मचारी रहेको जिल्ला अदालतमा २६ जना महिला रहेका छन्। थाहा खबर

Facebook Comments Box