अहिले लोकतन्त्र र गणतन्त्रको युग हो : राष्ट्रपति पौडेल
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताएका छन्।
आइतवार शीतलनिवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आजको युगमा सरकारले सबै नेपालीलाई समान रूपमा न्याय दिनुपर्ने बताए। उनले राज्यका स्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताए।
रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै उनले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका उल्लेख गरे। भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताए।
राष्ट्रपति पौडेलले भने‚ ‘रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको छ। भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका छन्। नेपाली भाषाले विस्तार पाएको छ। नेपालमा साझा भाषिक संस्कृतिको निर्माण हुँदै आएको छ। आजको युग लोकतन्त्रको र गणतन्त्रको युग हो। राज्यले सबै नेपालीलाई समान रूपमा न्याय दिनुपर्छ। राज्यका स्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्छ। यस पृष्ठभूमिमा भानुभक्तका योगदानलाई पनि आधुनिक चेतनाका साथ अघि बढाउनु आवश्यक छ। भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन्।’
राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताए। थाहा खबर

