संसदीय छानबिन समितिको नेतृत्व कांग्रेसलाई नदिन रास्वपाको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र महत्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरुलाई नै ठग्ने काम भएको बताए।
उनले कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर सन्दर्भमा गठित छानबिन समितिको नेतृत्व नेपाली काँग्रेसलाई दिन नहुने बताए ।
‘समिति बनाउँदा जुन दलसँग सम्बन्धित नेतामाथि औँला उठेको थियो त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने एक वर्ष अघिको कुरा तपाईंहरूले बिर्सनुभयो।’ उनले भने।
उनले भिजिट भिसा प्रकरणमा समेत आफूहरूको आन्दोलन जारी रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले डेढ महिनादेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन्। थाहा खबर

