विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ : सांसद कार्की
काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले यस्तो बताएकी हुन्।
सांसद कार्कीले नीति निर्माण गर्न गाह्रो हुने भन्दै संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताइन्।
‘नीति निर्माण गर्दा संसदमा जुन विधेयक प्रस्तुत हुन्छ, त्यो विधेयक प्रस्तुत गर्दा समय दिइएको हुन्छ, संशोधन गर्न। त्यो समय संशोधन गर्दा धेरै गम्भीर भएर संशोधन हाल्नुपर्छ। त्यो स्थिति हामीले देख्यौँ’, उनले भनिन्, ‘त्यसमा अलि अध्ययन गरेर, पार्टीमा नै कुरा गरेर छलफल गरेर बुझेर मात्रै संशोधन हालौँ।’
राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको सांसद कार्कीले बताइन्। उनले यसबाट सांसदहरू झस्किएको र सबै दफाहरूको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्नेमा जाेड दिइन्।
उनले भनिन्, ‘अस्ति राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेरको जुन कुरा आयो। सांसदहरू झनै झस्किएका छन्। त्यो दफा दफामा हेर्नुपर्छ। यसबाट हामीले पाठ सिक्नुपर्छ। हाम्रो भुमिका विधायिका बनाउने हो।’
समितिको बैठकमा शनिबार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो।थाहा खबर

