मुख्य आरोपी गृहमन्त्री हुनुहुन्न, राजीनामा दिनुपर्दैन : उदय समशेर
काठमाडौँ : नेपाली काँग्रेस सांसद उदय समशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिनु नपर्ने बताएका छन्।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्। उनले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानबिन गरी स्पष्ट पार्ने बताए।
मुख्य आरोपी गृहमन्त्री नभई सहसचिव भएकाले राजीनामा दिनु नपर्ने बताए।
जबराले भने, ‘छानविन अख्तियारले शुरु गर्नुपर्छ। मुख्य आरोपी गृहमन्त्री होइन, सहसचिव हो। सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ। तर पुष्टि नभईकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन।’
सांसद जबराले गृहमन्त्री आरोपी भएको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने बताए। थाहा खबर

