बालबालिका सङ्क्रमित हुने क्रम बढ्दो, कान्ति बाल अस्पतालमा गत हप्ता एक जनाको मृत्यु
काठमाडौं ।
गत साताको सुरुमा कान्ति बाल अस्पतालमा बेहोस अवस्थामा पुर्याइएका एक बालकको उपचारका क्रममा मृत्यु भयो।
झाडाबान्ता लागेर अचेत भएको अवस्थामा पुर्याइएका ती बालकको सुरुमा एउटा निजी प्रयोगशालामा कोरोनाभाइरसको परीक्षण गर्दा नेगेटिभ आयो। तर उनको अवस्था झन् गम्भीर बन्दै गयो। पहिलो परीक्षण गरिएको तीन दिनपछि फेरि कान्ति अस्पतालले परीक्षण गर्दा कोरोनाभाइरस पुष्टि भएको कान्ति बाल अस्पतालका कन्सल्टेन्ट डा. कृष्णप्रसाद बिष्टले बीबीसीलाई बताए।
झन्डै दुई साताअघि कोरोनाभाइरस सङ्क्रमित बालबालिकाको सङ्ख्या शून्य रहेको कान्ति बाल अस्पतालमा अहिले चार जना कोभिडका लागि उपचाररत रहेको उनले बताए।
अहिले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको प्रवृत्ति ‘खतराको घण्टी’
नेपालका बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण बढ्यो
“अहिले त बालबालिकाको परीक्षण बाबुआमामा कोरोनाभाइरस देखिए वा कन्ट्याक्ट ट्रेसिङमा परेर वा बालबालिका नै सिकिस्त भए मात्रै गर्ने गरिएको छ,” नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष पनि रहेका डा बिष्टले बीबीसीलाई भने।कान्ति बाल अस्पतालमा आएका बिरामीको कोरोनाभाइरस परीक्षण सङ्ख्या पनि बढेको उनले बताए।
पहिलाभन्दा बालबालिकामा सङ्क्रमण कति फरक?
गत वर्ष २० वर्षभन्दा कम उमेरका कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या आठ प्रतिशतभन्दा तल रहेकोमा अहिले त्यही उमेर समूहमा सङ्क्रमितको प्रतिशत १० प्रतिशतभन्दा माथि जाने देखिएको इपियोडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए।उनका अनुसार खासगरी सहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै छ।
उनले भने, “पोखरामा १८ वर्षभन्दा मुनिकामा करिब ५० प्रतिशत देखिएको छ। काठमाण्डू उपत्यकामा चाहिँ १० देखि २० वर्षको १० प्रतिशत जति र १० वर्षभन्दा कम उमेरकामा छ प्रतिशतजति छ।”
प्रारम्भिक तथ्याङ्क हेर्दा बालबालिकामा सङ्क्रमण बढिरहेका बेला उनीहरूलाई सङ्क्रमणको जोखिम रहेको विद्यालय बन्द गर्नु ठिक हुने स्वास्थ्यविद्हरू बताउँछन्।
“हाम्रा विद्यालयहरू हेर्दा उनीहरूले स्कूलको बसमा वा कक्षा कोठामा बालबालिकालाई कम्तीमा दुई मिटरको दूरीमा राख्न सम्भव हुन्छ जस्तो देखिँदैन,” डा. बिष्टले भने।
बालबालिकामाथि भाइरसको नयाँ प्रकारको असरबारे अनुसन्धान
‘विद्यालयबाट नै कोभिड फैलिन सक्छ’: सरोकारवालाहरू के भन्छन्
बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला विद्यालयहरू कसरी सञ्चालन गर्ने भन्नेबारे सोमवार शिक्षा मन्त्रालयले शिक्षक सङ्घ, अभिभावक सङ्घ, निजी विद्यालयका सङ्गठनहरूसँग छलफल गरेको थियो।
स्वास्थ्यविद्हरूले अहिले तत्कालका लागि बालबालिकाको सङ्क्रमण रोक्नका लागि विद्यालय बन्द गर्न सुझाए पनि विद्यालय सञ्चालकहरूले त्यसो नगर्न मानिरहेका छैनन्।
बालबालिकामा कस्तो लक्षण?
पहिलाको भन्दा अहिले सङ्क्रमणको प्रकृति फरक रहेको डा. रवीन्द्र पाण्डे बताउँछन्।
“अहिलेको कोरोनाभाइरस भेरिअन्टले बालबालिकालाई धेरै असर गरेको देखिएको छ,” उनले भने पहिलाको भन्दा लक्षण पनि फरक रहेको उनले बताए।
रुघाले शरीरबाट कोरोनाभाइरसलाई यसरी गलहत्याइदिन्छ
के खोपले नयाँ प्रकारको कोरोनाभाइरसविरूद्ध काम गर्छ
“पहिला कोरोनाभाइरसको लक्षणमा उच्च ज्वरो आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद गन्ध हराउने थियो,” उनी भन्छन्, “अहिले चाहिँ झाडाबान्ता हुने, एकदमै कमजोर महसुस हुने र थकाइ लाग्ने हुन्छ।”
दक्षिण एशियाका कुनकुन देशरूमा विद्यालय बन्द छन्?
दक्षिण एशियाका देशमध्ये भारत, पाकिस्तान र बाङ्लादेशमा विद्यालय बन्द छन्।
बीबीसी बाङ्ग्लाका मिर सबिरका अनुसार बाङ्ग्लादेशमा एक वर्षभन्दा बढी समयदेखि विद्यालय खुलेका छैनन्।
बीबीसी उर्दूकी इरफाना यासिरका अनुसार पाकिस्तानमा पनि अहिले विद्यालयहरू बन्द छन्।
त्यस्तै भारतमा कोरोनाभाइरसको महामारीबाट प्रभावित ठाउँका विद्यालयहरू पनि बन्द रहेका छन्।
नेपालमा अहिलेसम्म विद्यालय बन्दको घोषणा भएको छैन तर आफ्ना बच्चा विद्यालय पठाउन नचाहने अभिभावकले सामाजिक सञ्जालमा आफ्ना भनाइ राखेका छन्।बीबीसी न्यूज
