पूर्वराष्ट्रपति भण्डारीमार्फत चीनले दर्शाएको चाहना : वामपन्थी एकतामार्फत राजनीतिक स्थायित्व
काठमाडौं : सक्रिय राजनीतिमा ‘कमब्याक’ गर्ने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै उत्तरी छिमेकी चीनको १० दिने भ्रमण गरिन्। नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेकी उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
एमालेको नेतृत्वमा भण्डारीलाई ल्याएर नेपालका वामन्थीहरूलाई एक गराउने चिनियाँ चाहना रहेको चर्चाकाबीच यो भ्रमण भएको हो। ‘पूर्व’ भए पनि चीनमा उनले राष्ट्रप्रमुख सरहकै सम्मान पाइन्।
चिनियाँ राष्ट्रपति सिजिन पिङसँगको सुमधुर सम्बन्धका कारण उच्चस्तरीय सम्मान पाएको उद्योगमन्त्री दामोदर भण्डारी बताउँछन्। ‘हिजो उहाँ (भण्डारी) राष्ट्रपतिको भूमिकामा रहँदा चीनका राष्ट्रपति सि जिन पिङसँगको सम्बन्ध, सरकार र पार्टीको सहभागिता भएको हिसाबले उच्च सम्मान र सद्भाव चिनियाँ पक्षबाट दर्साइयो’, भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता पनि गरिन्। उनले चीनका उपराष्ट्रपति हान चेङ, चिनियाँ कांग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखदेखि प्रदेशका मुख्यमन्त्रीसम्मलाई भेटिन्।
ती भेटवार्ता दुबै मुलुकका द्विपक्षीय हितका अलावा नेपालको वामपन्थी एकताबारे पनि केन्द्रित रहेको थियो। वामपन्थी एकताका लागि चीनले पूर्वराष्ट्रपति भण्डारीलाई पहल गर्न आग्रह गरेको भ्रमण दलकै एक नेताले थाहा खबरसँग बताए।
‘नेपालका वामपन्थी दलहरूबीच एकता भयो भने स्थायी सरकार बन्न सक्छ, त्यो हुँदा राम्रो ! र त्यसका लागि पहल गर्नु, अगुवाइ गर्नु उचित हुन्छ भनेको छ’, उनले भने, ‘यो उहाँहरूको स्वाभाविक चाहना हो।’
भण्डारी स्वयंको मौनताले पनि यसलाई त्यही दर्शाएको थियो। चीनबाट फर्किएकै दिन सोमबार विमानस्थलमा पत्रकारहरूले सोधेको यही प्रश्नलाई उनले ‘स्किप’ गरेकी थिइन्। उनले ‘भ्रमण राम्रो भयो’ भन्दै वामपन्थी एकताबारेको प्रश्नलाई भने नजरअन्दाज गरिन्।
यद्यपि, मन्त्री भण्डारीले भने यो भ्रमणलाई त्यो चर्चासँग जोडेर हेर्न नमिल्ने बताएका छन्। ‘अहिले त्यो सन्दर्भ यो भ्रमणमा जोड्न हुँदैन। त्यसमा पार्टी नेतृत्वले आवश्यक परामर्श गर्ला। र निर्णय गर्ला’, उनले भने, ‘तर यो भ्रमण सद्भाव भ्रमण मात्रै हो। उहाँको भ्रमण दलमा पार्टी र सरकारको पनि सहभागिता रह्यो।’
मन्त्री भण्डारीले बरु कांग्रेससँगको गठबन्धन दायाँबायाँ नहोस् भन्नेतर्फ सचेत हुँदै चीन अहिलेको सरकारसँग खुसी रहेको बताए। ‘अहिले चिनियाँ पक्षमा प्रमुख दुई दलको सरकारले पूर्णता पाउन्, राजनीतिक स्थायित्व होस् र आजका अभिभारा पूरा होउन् भनेर खुसी व्यक्त भएको छ’, उनले भने, ‘त्यो भन्दा अतिरिक्त कुरा आएको छैन।’
चीनको चाहना स्वभाविक
नेपालमा राजनीतिक स्थायित्व होस् भन्ने चीनको घोषित चाहना हो। तर वामपन्थीहरूको एकल बहुमतको सरकार बनोस् भन्ने अघोषित तर बुझ्न कठिन नभएको अर्को चाहना हो।
त्यसका लागि नेपालका वामपन्थीहरू एक हुनुपर्ने र त्यो पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा सम्भव हुने बुझाइ चीनको रहेको विश्लेषण गर्ने गरिएको छ। यसपटक त्यो प्रष्ट सन्देश चीनले दिएको भनेर भण्डारी स्वयंको मौनताले पुष्टि गरेको ठान्छन् वामपन्थी विश्लेषक हरि रोका।
उनी भन्छन्, ‘अब उहाँ (विद्या) जानुभयो, उहाँलाई कम्युनिष्ट एकतामा जोड गर्नुस् भनेर चिनियाँ नेताहरूले भने भन्ने समाचारमा उहाँले खण्डन गर्नुभएन, भनेपछि यसबाट त्यही बुझिन्छ।’
अर्का वामपन्थी विश्लेषक डा. खगेन्द्र प्रसाँई त्यो चिनियाँ चाहना नौलो नभएको बताउँछन्। नेपालमा कम्युनिष्टहरूको स्थायी सरकार बनोस् भन्ने चीनको चाहना हुनुमा उनी दुई मुख्य कारण देख्छन्।
‘नेपालमा राजनीतिक स्थायित्व होस्, विकासोन्मुख सरकार बनोस् भन्ने चाहन्छ। किन भने उसँग अथाह पैसा छ, जुन लगानी चाहन्छ। खासगरी उनीहरूको लगानी सहजै स्वीकार्ने सरकार चाहन्छ। अर्को उसको चाहना नेपालमा त्यस्तो सरकार बनोस्, जसले झुकाव अमेरिकातिर नहोस्। किने भने अमेरिकासँग अन्तरविरोध बढ्दो छ। नेपाल अमेरिकनहरूले प्रयोग गर्न नपाउन् भन्ने कुरामा चीन एकदमै सचेत देखिन्छ’, उनी भन्छन्, ‘यी सबै कुराका लागि चिनियाँहरू बढी वामपन्थीलाई विश्वास गर्न सक्ने भए। र यो स्वभाविक पनि हो।’
विश्लेषक रोका नेपालका वामपन्थीहरू एक ठाउँ आए राम्रै हुने ठान्छन्। तर कम्युनिष्टहरूमा हुनुपर्ने नीति कार्यक्रम र आचरण भने नेपालका वामपन्थीहरूमा नभएको उनको बुझाइ छ।
‘एकठाउँ आए ठिकै होला, राम्रै होला’, उनी भन्छन्, ‘तर नेपालका कम्युनिष्टहरूसँग नीति कार्यक्रम केही छैन। कम्युनिष्टमा हुनुपर्ने आचरण पनि छैन। मिल्नु नमिल्नुले ठूलो अर्थ पनि राख्दैन।’ थाहा खबर
