देशमा कृषि र उद्योगधन्दा विकास गर्न सकेनौँ‚ त्यसैले भ्रष्टाचार बढ्यो : झलनाथ खनाल

सेयर गर्नुहोस

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशमा कृषि र उद्योगधन्दा विकास गर्न नसक्दा भिजिट भिसा प्रकरण जस्ता भ्रष्टाचार बढेको स्विकारेका छन्।

१८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताएका छन्। उनले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क राखे। उनले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले सङ्कटग्रस्त रहेको जिकिर गरे।

उनले मुलुकको राष्ट्रियतामाथि लगातार बाह्य हस्तक्षेप भइरहेका धारणा राखे। सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको बताए। उनले २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको बताए।

खनालले भने, “एयरपोर्टमा धन्दा कस्ता कस्ता हुँदा रैछन्। धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ। एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन्। हाम्रो देशमा न कृषिलाई अघि बढाउन सकियो, न उद्योगधन्दा विकास गर्न सकियो। शिक्षामा यस्तो अराजकता छ, २८ सालको ऐन अहिलेसम्म चलिरहेको छ। अलि जनमुखी प्रगतिशील शिक्षा हुने ऐन बनाऔँ भन्दा त्यो पनि अहिलेसम्म बनिसकेको छैन।”

उनले सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेको बताए। थाहा खबर

Facebook Comments Box