गृहमन्त्रीको गल्ती छैन तर चरित्र हत्या गर्ने काम भयो : शशांक कोइराला

सेयर गर्नुहोस

काठमाडौं : नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन्।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले बैठकमा गृहमन्त्रीको प्रष्टीकरणपछि उनको चरित्र हत्या गर्ने काम भएकोप्रति आफू स्पष्ट भएको बताएका हुन्।

गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उनीमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै कोइरालाले मंगलवारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिए।

नेता कोइरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताए। प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताए।

‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्चपनि उहाँले गल्ती गर्नुभएको छैन । जति पनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लान्छना लगाइएको छ त्यो गलत हो । भोलि उहाँले संसदमा जवाफ दिनुहुनेछ । हामीले के भनेका छौं भने सभापतिलाई बोलाएर सोध्न भनेका हौं । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौं । एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । उनले भने, ‘शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोध्न भनेका छौं । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरुसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ । ’

उनले पार्टी चलाउन संगठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै संगठनलाई निकास दिनका लागि मात्रै बैठकहरू गरिरहेको स्पष्ट पारे। थाहा खबर

Facebook Comments Box