‘प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैन’ : कांग्रेस

सेयर गर्नुहोस

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

उनले ओली नेकपा (एमाले) को समेत अध्यक्ष रहेको बताउँदै प्रधानमन्त्रीले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताए। उनले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको बताए।

प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गरे। उनले शान्तिपूर्ण तरिकाले विरोध तथा प्रदर्शन गर्न संविधानले नै अधिकार दिएको जिकिर गरे। उनले संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताए। उनले राजावादीहरूले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानविरुद्धका गतिविधिहरू कांग्रेसलाई स्वीकार्य नहुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रण हुनुपर्ने बताएका थिए। थाहा खबर

Facebook Comments Box