नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता
काठमाडौँ : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन्।
शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादी हिंसाको चरम कायरताको चिह्न भएको बताए। त्यस प्रकारका घटनाबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे।
नेता सिटौलाले भने, ‘जनताको अधिकार र समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादी हिंसाको चरम कायरताको चिह्न थियो। यस्ता प्रकृतिका घटनाबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्छन्। कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्। कति हृदयदेखि भन्छन्।’
नेता सिटौलाले स्व. रेग्मीले काँग्रेस पार्टी निर्माणमा पारेको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए। थाहा खबर
