चिनियाँ ह्यकरबाट नेपाली एटीएम कति सुरक्षित ?

सेयर गर्नुहोस

काठमाडौं । चीनबाटै साँचो बोकेर नेपाली बैंकको एटीएम बुथ खोल्ने क्रममा पक्राउ परेका चिनियाँ अभियुक्त यतिबेला काठमाडौंको प्रहरी हिरासतमा छन् । चीनबाटै साँचो लिएर काठमाडौं आएका यी अपराधीको हर्कतले गम्भीर प्रश्न उब्जाएको छ– नेपाली बैंकका एटीएम बुथहरु कत्तिको सुरक्षित छन् ?

गत चैत १७ मा चिनियाँ नागरिक वाङ जियाओलो काठमाडौं–२७ ज्याठास्थित मेगा बैंकको एटीएम बुथ खोल्दै गर्दा पक्राउ परेका हुन् । त्यहाँ उनले चिनियाँ साँचो प्रयोग गरे एटीएम खोलेर मेशिनको सिरियल नम्बरको फोटो खिचेका थिए । तर, पैसाचाहिँ निकालेका थिएनन् ।
प्रहरीसँगको बयानमा ती चिनियाँ अपराधीले भनेका छन्, ‘मलाई सिरियल नम्बर खिचेर पठाउनु भनिएको छ । तर, पठाउन भ्याइँन ।’

सिरियल नम्बरको फोटो पठाउनुअघि नै दरबारमार्गका डीएसपी रामेश्वर पौडेल र महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको टोलीले जियाओलोलाई पक्रेका हुन् । साँचोबारे सोध्दा चिनियाँ अभियुक्तले प्रहरीलाई भनेका छन् ‘चीनबाट साँचो लिएर आएको थिएँ, त्यसैबाट मेशिन खुल्यो ।’

आखिर यी चिनियाँ अभियुक्तले एटीएम खोलेर सिरियल नम्बरको तस्वीर लिनुको कारण के हो ? महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह मेशिनको सिरियल नम्बर खिचेर चिनियाँले लुटको पूर्वतयारी गरेको हुन सक्ने बताउँछन् । तर, सूचना प्रविधिका जानकारहरु चाहिँ सिरियल नम्बर पत्ता लगाएका आधारमा एटीएमबाट पैसा लुट्न सम्भव नहुने दाबी गर्छन् ।

‘सिरियल नम्बर मात्रै पाएर ह्याक गर्न सकिँदैन’ सेन्चुरी बैंकका एटीएम कार्ड शाखाका प्रमुख युनिस पुरी भन्छन्, ‘सिरियल नम्बर हेरेर एटीएम लुटेको हामीले कहीँ देखेका छैनौं । अर्को कुरा चिनियाँ नागरिकले जुन साँचोले एटीएम खोले, त्यो साँचोको प्रयोग गरेर पैसा निकाल्न सम्भव पनि हुँदैन ।’

बैंक कर्मचारीका अनुसार एटीएम मेशिनको तल्लो भागमा उच्च सुरक्षा सतर्कतासहितको सेफ हुन्छ । ‘सामान्य आगोले नजल्ने र ह्यामरले नफुट्ने सेफमा पैसा राखिएको हुन्छ’ पुरी भन्छन्, ‘सेफको एउटा साँचो र कम्बिनेशन वाला अर्को साँचो हुन्छ ।’

याे पनि
चीनबाटै एटीएमको साँचो लिएर आएका थिए ‘ह्याकर’

उनका अनुसार सिरियल नम्बरबाट एटीएमको सिस्टममा प्रवेश गर्न सकिँदैन । तर, नेपालमा कुन जेनेरेशनको मेशिन प्रयोग भएको छ भन्नेचाहिँ सिरियल नम्बरबाट थाहा हुन्छ । ‘मेशिनमा लागेको सिस्टम ह्याकरले विश्लेषण गर्न खोजेको हुनसक्छ’ अर्का एकजना आईटीका जानकारले रातोपाटीसँग भने, ‘सिरियल नम्बरबाट सिस्टमभित्र पहुँच हुँदैन, सिस्टमभित्रको सफ्टवेयरमा एक्सेस नपाउँदासम्म पैसा झिक्न सम्भव चाहिँ छैन ।’

सूचना प्रविधिका जानकारहरुका अनुसार सिरियल नम्बरको विश्लेषण गरेर कुन किमिसको मेशिन नेपालमा प्रयोग भएको रहेछ भनेर मात्र पत्ता लगाउन सकिन्छ ।

यदि, त्यसो भए चिनियाँले किन खिचे त एटिएमको सिरियल नम्बर ? महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेत भन्छन्, ‘हाम्रो अनुसन्धान सिरियल नम्बर किन खिचे भन्नेमै केन्द्रित छ ।’

मेशिन खोलेर नेटवर्क केवलमा पस्न खोजेको हुन सक्ने बताउँछन् सनराइज बैंकका उपमहाप्रबन्धक रोविन नेपाल । ‘सिरियल नम्बरमात्रै खिच्न खोजेको भनेर चिनियाँ नागरिकले भने पनि नेटवर्क केवलमा पसेर ह्याक गर्न खोजेको हुन सक्छ’ नेपालले रातोपाटीसँग भने, ‘अपराधीको मोटिभ र भनाइ फरक हुन सक्छ ।’

मोवाइल, ल्यापटप परीक्षण गरिँदै

२९ वर्षीय वाङ जियाओलोले ठमेलस्थित सञ्चयकोष भवनपछाडि होटल मन्टेशमा कोठा नम्बर ४०५ अनलाइनबाट बुक गरेका थिए ।

काठमाडौं ओर्लिएपछि होटलमा सामान राखेर एटीएम बुथमा पुगेका वाङको साथबाट प्रहरीले ल्यापटप र मोवाईल बरामद गरेको छ । बरामद गरिएको ल्यापटप र मोवाईल परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्यावमा पठाइएको एसपी बस्नेतले रातोपाटीलाई बताए ।

वाङका साथबाट प्रहरीले दुई प्रकारका १० वटा भिसा कार्ड बरामद गरेको छ । ती कार्डमा कस्ता डाटा छन् भन्ने परीक्षण गरिँदैछ । कार्डमा कस्ता डाटा छन् भन्नेबारे बैंकका आइटीसम्बन्धी जानकारहरुले प्रहरीलाई सहयोग गरिरहेका छन् ।

चिनियाँ अभियुक्तमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट दोस्रोपटक ७ दिनको म्याद लिएको छ ।

३ प्रकारका मेशिन

नेपालमा प्रयोग हुने एटीएम र विश्वका विकसित मुलुकमा भएका एटीएम समान स्तरका रहेको बैंकका अधिकारीहरुको दाबी छ । नेपालमा एनसीआर, डिबोल्ड र विनकोर ब्राण्डका मेशिन प्रयोग हुने गरेका छन् । नेपाली बजारमा ३ कम्पनीमा छुट्टछुट्टै प्रतिनिधिले मेसिन सप्लाई गर्दै आएका छन् ।

११ बर्ष पुरानादेखि नयाँ मेशिन नेपालका बैंकहरुले प्रयोग गरिरहेका छन् । तर, पुरानो मेशिनमा पनि सुरक्षा सतर्कताचाहिँ मजबुद रहेको बैंकका आइटी शाखाका कर्मचारीहरुको दाबी छ ।

‘मास्टर की’ प्रयोग गरेर धेरै मेशिन खुल्न सक्छ । चिनियाँ नागरिकले प्रयोग गरेको साँचोको मास्टर साँचो हुन सक्ने बैंकका अधिकारीहरुको अअनुमान छ । ‘चीनमा पनि हाम्रोजस्तै मेशिन प्रयोग हुन्छ’ पुरी भन्छन्, ‘चिनियाँ नागरिकले मास्टर साँचो बनाएर ल्याएको हुन सक्छ ।’

Facebook Comments Box