चालू खर्च ६५ बाट ३५ प्रतिशतमा झारे‚ बजेटको समर्थन गर्छौं : पूर्व अर्थमन्त्री शर्मा
काठमाडौँ : पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा चालू खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्ने गरी आए आफूहरूको पूर्ण समर्थन रहने बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन्। उनले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमूलक दस्तावेजको रूपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए।
राजस्व १० खर्बको वरिपरिमात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने बताए। आर्थिक क्षेत्रको पुनर्संरचना गरेरमात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्।
शर्माले भने, ‘बजेट बनाउँदा जनअपेक्षा पूरा गर्ने स्रोत हामीसँग छैन। त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालू खर्चमा जान्छ। १७ प्रतिशत मात्र पुँजीगत खर्च हो त्यो पनि खर्च हुँदैन। त्यसकारण त्यो ६५ लाई ३५ मा झार्ने गरी ल्याउनुस् हाम्रो समर्थन रहनेछ।’
उनले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकाले जनताको निराशा चिर्ने गरी अघि बढ्न सुझाव दिए। थाहा खबर
