सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गरियोस्ः रेखा शर्मा

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छिन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन्। उनले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताइन्। उनले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गरिन्।

‘नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको विषय संसदभित्र संसद बाहिर, मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भयो। यो बीचमा हामी सबैले छलफल गरिरहेका छौं। देशलाई ग्रे लिष्टबाट मुक्त गर्नुपर्नेछ। देशको अर्थतन्त्र सबलीकरण गर्नुपर्ने छ। तरपनि गभर्नरको नियुक्ति नभएर समितिकै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ। यस्तो अवस्थामा यो दुई तिहाइको यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न चाहन्छु। गभर्नर नियुक्तिको विषयमा बाहिर चर्चा भइरहेको छ’, उनले भनिन्, ‘सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइज्जत भइरहेको छ। त्यसकारण राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु।’

उनले दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफू इच्छुक रहेको बताइन्। थाहा खबर

Facebook Comments Box