सरकारमाथि गरिने आलोचना र खण्डन स्विकार्छौं : मन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डन स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्।
मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै विरोधका लागि मात्रै विरोध नगर्न सचेत गराए। उनले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताए। नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालले नेपालको कानून मान्नैपर्ने बताए।
मन्त्री गुरुङले भने, ‘तपाईंहरू सबैले आलोचना गर्नुस्‚ हाम्रो कुरा खण्डन हुनसक्छ। त्यो हामी स्विकार्न तयार छौँ। कहाँ बिग्रियो त्यो भन्नुहोला। देश र जनताको हितमा कहाँ भएन? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला। त्यो हामी सहर्ष स्वीकार्न तयार छौँ।’
मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसद्मा पेश भइसकेको र चाँडोभन्दा चाँडो पारित गर्ने बताए। साइबर क्राइम नियन्त्रण गर्ने कुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको बताए ।थाहा खबर
