जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न माग
काठमाडौँ : नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्। उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याइन्।
उनले जनकपुरधामलाई ‘विवाह गन्तव्य’को रूपमा विकास गर्न आवश्यक बजेट विनियोन माग गरिन्। विश्वभरका हिन्दुधर्मावलम्बीको आस्था र श्रद्धाको केन्द्र जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उनको माग छ।
महतोले भनिन्, ‘जनकपुरधामलाई ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वअनुसार अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न अब निर्णायक कदम चाल्न आवश्यक छ। सीता–राम विवाहस्थलका रुपमा यसको पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई विवाह गन्तव्य र धार्मिक पयर्टन केन्द्र बनाउन समुचित बजेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु।’
सांसद महतोले आन्तरिक रोजगारी प्रवर्धन गर्न बन्द रहेका उद्योग र कलकारखाना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्। थाहा खबर
