नयाँ गभर्नरमा विश्व पौडेलको चर्चा

सेयर गर्नुहोस

काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त भएको एक महिना बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन।

राष्ट्र बैंक ऐनले गभर्नर रिक्त हुनु एक महिनाअघि नै नियुक्त गरिसक्नुपर्ने भनेको छ। तर, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको दाउपेचका कारण सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्ने गभर्नर पदलाई हलुका सावित गरिँदैछ।

गभर्नर नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन। कसलाई गभर्नर बनाउने भनेर दलका बैठकहरुमा छलफल तीव्र हुँदा सिफारिस समिति निरीह बनेको हो। सत्तारुढ दलहरुले कानुनको समेत धज्जी उठाइरहेका छन्। गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ।

गएराति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए। पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो। पौडेल सभापति देउवाका विश्वास पात्र मानिन्छन्। पौडेल गत निर्वाचनमा चितवन-१ बाट कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनी रास्वपाका नेता हरि ढकालसँग पराजित भएका हुन्। उनी उक्त निर्वाचनमा तेस्रो भएका थिए।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता बालुवाटारको बैठकमा सहभागी थिए। बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएको गृहमन्त्री लेखकले बताए।

‘गभर्नर नियुक्तिमा विवाद छैन, राष्ट्र बैंकमा प्रक्रियागत जटिलताले ढिलाइ हुन पुगेको हो। अब एक साताभित्र गभर्नर नियुक्ति हुनेछ,’ लेखकले भने।

कामु गभर्नर निलम ढुंगानाले राजीनामा स्वीकृत नगर्ने भनेपछि कांग्रेसले विकल्प खोजको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर ढुंगानालाई अनुरोध गर्दा पनि नमानेको स्रोतको दाबी छ ।

पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको छ। नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा गभर्नर नियुक्तिका विषयमा लामै छलफल भयो। नियुक्तिकै विषयले गठबन्धनमा गहिरिँदै गएको समस्यादेखि एमालेले चलखेल गरेको सम्मका चर्चा भए।

भट्टको राजीनामा स्वीकृत नहुनुमा एमालेको हात रहेको बुझाइ कांग्रेसका धेरैजसो पदाधिकारीको थियो। बैठकमा भट्टको विकल्पका विषयमा समेत छलफल भएको छ। तर, सभापति शेरबहादुर देउवाले कांग्रेसकै कोटाबाट गभर्नर हुने भन्दै पदाधिकारीलाई मनाउने प्रयास गरे।

गत चैत २४ गते महाप्रसाद अधिकारीको अवकाश भएदेखि नै कांग्रेस र एमालेको राजनीति गभर्नर नियुक्ति प्रक्रियामा अल्झिएको छ। अर्थमन्त्री संयोजक रहेको गभर्नर सिफारिस समितिले नाम टुंगो लगाउन सकेको छैन।

गभर्नर नियुक्तिको छलफल हुनुपर्ने सिफारिस समितिलाई पंगु बनाउन खोजिएको भन्दै सदस्य विजयनाथ भट्टराईले राजीनामा नै दिएका थिए। त्यसपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको छ। थाहा खबर

Facebook Comments Box