राजाले गद्दी त्यागेर सुख पाउँदैनन्, देशको स्वार्थका लागि पनि राजा चाहिन्छ : केशरबहादुर विष्ट

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले राजसहितको प्रजातन्त्र पुनःस्थापित हुने दाबी गरेका छन्।

बिहीवार राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवर्धनवादी राजनीतिक नेतृत्व विश्वमाझ प्रस्तुत गर्ने जिकिर गरे।

उनले आफूहरूले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको बताए। उनले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरू अहिले राष्ट्रिय झण्डामुनि गोलबद्ध भएर आन्दोलनको जग बसालेको स्पष्ट पारे। राजाले गद्दी त्याग गरेर सुख नपाउने भन्दै उनले देश रक्षाको स्वार्थका लागि पनि राजसंस्था अवश्यक भएको बताए। ​राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास रच्दै प्रजातन्त्रलाई थप सुदृढ बनाइने उनको भनाइ छ।

विष्टले भने, ‘राजाले गद्दी त्यागेर सुख पाइँदैन। राजा नभई यो देश चल्दैन, देशको स्वार्थका लागि भए पनि राजा चाहियो भनेर गत १८ वर्षदेखि यो कुरा भन्दै आयौँ। त्यो एकता अब राष्ट्रिय झण्डामा मात्रै हुन्छ भन्दै आयौँ। आज ती सारा कुराले जग हालेको छ। चाँडै राष्ट्रले संवर्धनवादी राजनीतिक नेतृत्व विश्वसामु प्रस्तुत गर्नेछ‚ राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास फेरि प्रारम्भ हुनेछ। प्रजातन्त्रको अझ बढी सुदृढ सक्षम र सबल जग बस्नेछ भन्ने आशाका साथ प्रतिबद्धता जाहेर गर्छु।’

अध्यक्ष विष्टले देशको माया हुने सबैले आन्दोलनमा भाग लिई सफल गराउनुपर्नेमा जोड दिए। थाहा खबर

Facebook Comments Box