लोप हुने क्रममा चौरीपालन पेशा

सेयर गर्नुहोस

पासाङ शेर्पा
काठमाडौं : केही दशक अघि हिमाली खर्कहरूमा चौँरी गोठ र पाखाहरूमा टन्न चौँरी भेटिन्थे। तर अचेल ती खर्कहरूमा न त चौँरीगोठ देखिन्छन् न त पाखाहरूमा चौँरी नै भेटिन्छन्।

दिनप्रतिदिन विश्व नजिकिँदै जानु र मानिसहरूको इच्छा आकांक्षा र चाहना बढ्दै जानले शेर्पा समुदायको पुर्ख्यौली पेशा अर्थात् हिमालको व्यवसाय चौँरीपालन क्रमशः कम लोप हुँदै गएको छ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदाय र अन्य समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको चौँरीपालन पेशामा युवा पुस्ताको ध्यान नजाँदा अब चौँरीपालन दन्त्यकथामा सीमित हुने अवस्थामा पुगेको छ।

दशकअघिसम्म सोलुखुम्बु जिल्लाको पिके क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले ८-१० वटामा सीमित छ।

चौँरीपालन व्यवसाय कुनै समय जीविकोपार्जन गर्ने मुख्य पेशाको रूपमा रहे पनि अहिले आएर त्यस पेशामा युवा पुस्ताले चासो नदिनु र राज्यको नजरमा यो पेशा नपर्नुले पनि चौँरीपालन पेशा लोप हुन लागेको हो।

पिके क्षेत्रमै वर्षौँदेखि चौँरीपालनमा आबद्ध रहेका कृषकहरू राज्यले चौँरीपालन व्यवसायमा उचित किसिमको अनुदान, बिमा र उत्पादित वस्तुहरूलाई उचित मूल्यमा बिक्री वितरण गर्ने बजार व्यवस्थापन नगरेकै कारण चौँरीपालन पेशा संकटमा परेको बताउँछन्।

अहिले पिके क्षेत्रमा चौँरीको दुध बजारमा प्रतिलिटर १५० रुपैयाँमा बिक्री हुने गरेको छ भने सोही दूध सरकारी डेरी दूध विकास संस्थान लैनचौरको अधीनमा रहेको डेरीमा प्रति लिटर ६५ रुपैयाँ मात्रै दिने गरेको कृषकहरूको गुनासो रहेको छ।

दिनमा २० लिटर दूध बाहिरी बजारमा बिक्री गर्दा तीन हजार कमाइ हुने भए पनि सरकारी डेरीमा पुर्‍याउँदा २० लिटर दुधको मूल्य १३ सय मात्रै पाउने गरेको कृषकहरूको गुनासो छ।

प्रत्येक दिन दूध बजारमा बिक्री गर्नलाई पनि उपभोग गर्ने उपभोक्ता नरहेका कारण कम मूल्य नै आए पनि सरकारी डेरीमै पुर्‍याउनु पर्ने कृषकको बाध्यता छ।

वर्षमा छ महिना मात्र दूध उत्पादन हुने चौँरी गोठमा सोही दूधको समेत उचित मूल्य नपाउँदा चौँरीगोठका कृषक यो पेशा चटक्क भुलेर अन्य नै पेसा व्यवसायमा लाग्ने गरेको पाइन्छ।

चौँरीपालन व्यवसायमा अन्य पेशामा भन्दा निकै कठिन कार्य भएको कारण युवा पुस्ताले यो पेशालाई अँगाल्न इन्कार गरिरहेका चौँरी कृषकहरू बताउँछन्।

राज्यको नजर यस्ता व्यवसायमा नजाँदा विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य पेशा चौँरीपालन र पर्यटन रहे पनि अहिले आएर यी दुवै संकट उन्मुख रहेका छन्।

चौँरी पालन एउटा व्यवसाय मात्र नभएर हिमालको सौन्दर्यको रूपमा पनि रहेको पाइन्छ। त्यही हिमाली खर्कहरूमा चौँरी गोठ र चौँरी नदेख्दा आजभोलि त्यस भेगमा घुम्न जाने आन्तरिक र बाह्य पर्यटक हरुलाई खल्लो महसुस हुने गरेको छ।

दिनप्रतिदिन कुनै समुदायको पुर्ख्यौली पेशा र पर्यटकलाई आकर्षित गरेर वार्षिक रुपमा करोडौं रुपैयाँ राजस्व संकलन गर्न सक्ने राज्यको आर्थिक स्रोतको रुपमा रहेको पर्यटन र चौँरीपालन व्यवसायमा सरकारको बजेटले समेत छोएको छैन।

विभिन्न क्षेत्रमा राज्यले वार्षिक रूपमा करोडौँ रकम विनियोजन गरे पनि राज्यको मुख्य राजस्व सङ्कलन हुने पर्यटन क्षेत्र र पुर्ख्यौली पेशाको रूपमा रहेको चौँरीपालन व्यवसायमा नजर अन्दाज गर्दै आइरहेको छ।

राज्यले हरेक वर्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यवसायी बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउने भाषण गर्न भने छाडेका छैनन्।

चौँरीपालन व्यवसायलाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले खोलिएका कतिपय संस्थाहरू वर्षमा एकपटक महोत्सव नाममा केही मान्छेलाई भेला गराएर सरकारी बजेट झ्वाम पार्ने नीति अवलम्बन गरिरहेका छन्। चौँरी व्यवसाय र चौँरीकोटहरू दिनप्रतिदिन संकटमा परेका छन्।

यस क्षेत्रमा अहिले नै राज्यले ध्यान नदिने हो भने भोलिको दिनमा चौँरी व्यवसाय संरक्षणको नाममा अनेकौँ संस्था खोलेर राज्यको ढुकुटी दोहन गरेर केही मुठ्ठीभरका मान्छे नमोटाउलान् भन्न सकिन्न।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिन्छ। पहाडी गाई र हिमाली याकबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन्। थाहा खबर

Facebook Comments Box