सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधि महत्त्वपूर्ण : मन्त्री लामिछाने
काठमाडौँ : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको विकासले सुशासन र पारदर्शिता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ नयाँ प्रविधिले मुलुकको सर्वाङ्गीण विकासमा सहयोग पुगिरहेको बताएका हुन्। प्रविधिको उच्चतम उपयोग गर्दै सूचना तथा सञ्चारको विकासका लागि निजी क्षेत्र, सरकार र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
डिजिटल बागमतीका लागि आधारभूत पूर्वाधारका रूपमा रहेको डेटा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययनको काम गरिरहेको जानकारी दिए। प्रविधिको समुचित प्रयोग गर्दै डिजिटल बागमतीका लागि स्वास्थ्यमा टेलिमेडिसिन, यातायाततर्फ लाइसेन्स प्रिन्ट र इम्बोस्ड नम्बर अनिवार्य प्रयोगका विषय तथा सवारी अनुमतिपत्र जाँचका लागि उपकरण हस्तान्तरण र अपराध नियन्त्रणका लागि डिजिटल ल्याब निर्माणको काम भइरहेको उनको भनाइ थियो।
मन्त्री लामिछानेले भने, ‘सरकारले सोचेअनुसार बजेट नहुँदा काम गर्न डिजिटल बागमती बनाउन समस्या रहेको छ। डिजिटल बागमतीका लागि निजी क्षेत्रसँगै सरोकारवालाले अग्रसरता लिनुपर्छ। डिजिटल बागमती बनाउन र अपरिहार्य सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गर्छु।’
उनले प्रदेश सरकारले डिजिटल बागमती निर्माणका प्रदेश सरकार, सरोकारवाला निकाय र सञ्चार प्रविधि क्षेत्रमा कार्यरत संघसंस्थाको सुझाव आवश्यक रहेको उल्लेख गरे। थाहा खबर
