राष्ट्रबाद बाेलीमा मात्र सिमित , पदकमा नयां नक्सा छैन

सेयर गर्नुहोस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् ।

सरकारबाट पाएको पदकसहित सम्मान पाएकाहरुले शुक्रबार आफ्नो तस्वीर सामाजिक सञ्‍जालमा राखे, जहाँ प्रदान गरिएको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा देखिएन ।

संसदले समेत अनुमोदन गरेको उक्त नक्सामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि पनि समेटिएको छ । तर शुक्रबार वितरण भएको पदकमा नयाँ नक्सा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्सा खै’ भन्ने प्रश्न उठेको छ ।

नयाँ नक्सा किन नराखेको भन्‍ने प्रश्‍नमा गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, ‘यो पोहोर सालकै पदक हो । कोरोनाका कारण दिन पाइएको थिएन । पोहोर पदकमा पहिल्‍यै छापिएर आइसकेकाले फेर्न मिलेन ।’ उनका अनुसार यो पदक २०७६ सालमा घोषणा गरिएको हो ।

उनका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्सासहितको पदक प्रदान गरिने बताए । उनले भने, ‘आज बाँडिएको पदक पहिल्‍यै छापिएको हो । बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।’

विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व.मदनमणि दीक्षित, पूर्वमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा. डा. दिव्यासिंह शाहलगायत छन् ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

गत वर्ष विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।अनलाइनखबर

Facebook Comments Box