म्यानमारमा जस्तै हामीलाई पनि गोली हानिएको थियो : नेता कर्ण
काठमाडौं। म्यानमारमा सैनिक सरकारले विरोधमा उत्रिएका नागरिकमाथि गरेको दमनको जनता समाजवादी पार्टीले विरोध गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा जसपा नेता लक्ष्मणलाल कर्णले त्यहाँको घटनाप्रति संवेदनशील हुनुपर्ने बताए। त्यसबारे सरकार र संसद समेत बोल्नुपर्ने उनको माग छ।
‘यो घटना हेर्दाखेरि सम्पूर्ण संसार आज संवेदनशील छ, लोकतान्त्रिक मुलुकहरु संवेदनशील छ,’ उनले भने, ‘यो संसद र हाम्रो सरकार जहाँ लोकतन्त्रको हत्या भएको छ, त्यसबारेमा बोल्नुपर्छ। गम्भीर हुनुपर्छ।’ कर्णले म्यानमारमा भएको लोकतन्त्रविरोधी कदमलाई नेपालको मधेस आन्दोलनसँग तुलना पनि गरे।
म्यानमारमा निर्वाचित सरकार विघटन गरेर सैनिकले ‘कु’ गरेको, त्यसको प्रतिरोधमा उत्रिएका जनतालाई गोली हानिरहेको उनले बताए। ‘त्यहाँ सानो अवधिमा ८०० मानिसको मृत्यु भइसकेको छ,’ उनले भने, ‘हामी पनि यसै किसिमबाट शान्तिपूर्ण रुपमा मधेस आन्दोलन गरिरहेका थियौं, हामीमाथि पनि छातीमा, टाउकोमा गोली हानियो।’
यी दुवै घटना बीचको फरक छुट्याउँदै उनले भने, ‘मधेस आन्दोलनमा ६ महिनामा १०५ जना मारियौं भने त्यहाँ (म्यानमारमा) एक महिनामा ८०० भन्दा बढी मारिए।’ जहाँ लोकतन्त्रको हत्या भएको छ, त्यसको बारेमा यो संसद र सरकारले बोल्नुपर्ने उनले बताए। मानवअधिकार र लोकतन्त्रका लागि बोल्नुपर्ने, लड्नुपर्ने स्थिति विद्यमान रहेको उनको भनाइ थियो।
कोरोनाको दोस्रो लहर खतरनाक ढंगले बढ्दै गरेको भए पनि सबैलाई खोपको उपलब्धता नभएको, काठमाडौंमा वायुप्रदुषणको अवस्था भयावह रहेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। वायुप्रदुषणबाट बच्नका लागि सरकारले घरमै बस्न भनेकोतर्फ संकेत गर्दै उनले भने, ‘त्यसो भए सबै जनता घरमै बसिरहने ? घरमा बसेर जनताको जीवन चल्न सक्दैन।’
उनले यसै सम्बन्धमा एउटा रोचक किस्सा पनि सुनाए। उनले भने, ‘एउटा मानिसले डाक्टरलाई आफ्नो समस्या सुनाउँदै भनेछ, मैले सास फेर्दा दुख्छ। डाक्टरले उसलाई सजिलो उपाय दियो। सास फेर्न बन्द गर्नुस् दुखाइ बन्द हुन्छ।’ सरकारले प्रदूषणबाट बच्नका लागि जनतालाई घरमै बस्न गरेको आग्रह सोही प्रकृतिको रहेको उनले बताए। लोकपाटी न्यूज
