सरकारले संघीयता संस्थागत गर्न सकेन : प्रकाशमान सिंह

सेयर गर्नुहोस
फाइल तस्बिर

झापा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले वर्तमान सरकारले दुई तिहाइ बहुमत हुँदा पनि संघीयतालाई संस्थागत गर्नुको साटो केन्द्रीकृत गरेको बताए ।

सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्नुपर्नेमा केन्द्रीकृत गर्‍यो, सुशासन कायम गर्न सकेन, ल एण्ड अर्डर मेन्टेन गर्न सकेन ।’

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कार्यलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गरिसकेको अवस्थामा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताए । तर प्रधानमन्त्रीको शब्दकोषमा नैतिकताको ‘न’ नै नभएका कारण अझै सत्तामा रहिरहेको उनको भनाइ थियो । ‘ओलीको सरकारलाई नैतिकताको मतलब छैन,’ उनले भने ।

संविधानतः वर्तमान परिस्थितिमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भए पनि त्यसतर्फ प्रधानमन्त्री केपी ओलीले तत्परता नदेखाएको सिंहको भनाइ छ । राष्ट्रिय राजनीतिमा देखा परेको अस्थिरता हटाउन अहिलेको असंवैधानिक सरकार हटाउनुपर्ने र नेपाली काँग्रेसले त्यसको पहल गरिरहेको उनले बताए ।
साभार: राताेपाटी

Facebook Comments Box