कोरोनापछि पर्यटक भित्र्याउने योजना मन्त्रिपरिषदमा अलपत्र

सेयर गर्नुहोस

कोरोनाविरुद्धको भ्याक्सिन धमाधम लगाउन सुरु भए पनि आगामी पर्यटकीय सिजनमा कसरी पर्यटक ल्याउने भन्ने विषयमा अझै टुंगो लागेको छैन । पर्यटन विभाग, पर्यटन बोर्ड तथा व्यवसायीहरूले क्वारेन्टिन हटाउने, भ्याक्सिन लगाएका पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने तथा विमानस्थलबाट सीधै पिसिआरको नमुना परीक्षण गराउनेलगायतको प्रस्ताव तयार पारिएको थियो ।

प्रस्ताव पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा गएको धेरै भए पनि निर्णय हुन सकेको छैन । जसले गर्दा पदयात्रा र हिमाल आरोहणको मुख्य सिजन सुरु हुनै लाग्दा आरोहणमा आउने पर्यटकको व्यवस्थापनको विषयसमेत टुंगो लागेको छैन । ‘प्रस्ताव पठाएको भए पनि आजसम्म निर्णय भएर आएको छैन,’ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘अहिले पनि ७ दिनको अनिवार्य क्वारेन्टिनको व्यवस्था कायम छ ।’

विमानस्थलमै पिसिआरको नमुना परीक्षण गर्ने र दुईवटा भ्याक्सिन लगाएर आउनेलाई निर्बाध घुम्न दिने विषयमा पनि निर्णय नहुँदा टुंगो नलागेको तामाङले बताए । पछिल्लो समय केही सयको संख्यामा पर्यटक आगमनमा वृद्धि भए पनि सरकारले ठोस निर्णय नगर्दा अन्योल थपिएको व्यवसायीहरूको आरोप छ ।

सन् २०२१ को फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक आएका छन् । गत जनवरीमा ८ हजार ८ सय ४७ पर्यटक आएका थिए । त्यस्तै, नोभेम्बरमा १ हजार ९ सय ५६ र डिसेम्बरमा ४ हजार २ सय ४५ पर्यटक आएका थिए । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटक आगमन खुला गरे पनि पर्यटक आगमनमा उल्लेख्य सुधार हुन सकेको छैन । ‘सरकारलाई पटक–पटक आग्रह गर्‍यौँ, पटक–पटक पर्यटन मन्त्रालयमार्फत प्रस्ताव लगेर क्वारेन्टिन हटाऔँ भन्दा कसैको ध्यान नै दिएनन्,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । पर्यटन मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति (सिसिएमसी)मा क्वारेन्टिनको विषय र कोरोना बिमाको विषय हटाउनका लागि आधादर्जनपटक प्रस्ताव नै पठाएको थियो । सिसिएमसीले पनि निर्णय गरेर मन्त्रिपरिषद्मा पटक–पटक पेस गरेको छ । तर, निर्णय भने हुन सकेको छैन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले पटक–पटक माग बुझाउँदा–बुझाउँदा थाकेको बताउँछन् । पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने मागसमेत अध्यक्ष सुवेदीले गरेका छन् ।

केही महिनाअगाडि भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाको कालापत्थर पुगेर विनाअनुमति रिपोर्ट बनाएका थिए । उनले त्यस रिपोर्टमा सगरमाथामा भारतको समेत दाबी हुनुपर्ने बताएका थिए । त्यसको नेपालमा चर्को विरोध भएपछि चौधरीले माफीसमेत मागेका थिए । त्यसपछि पर्यटन विभागले पर्वतारोहण व्यवस्थित बनाउन भन्दै पर्वतारोही र पर्वतारोहण दलका सदस्यले आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि फोटो, भिडियो खिच्न नपाउने निर्णय गरेको छ । विभागले मंगलबार जारी गरेको सूचनामा अन्य प्रयोजनमा फोटो, भिडियो र फिल्मिङ गराउने काम गर्न नपाइने उल्लेख छ । गतिविधिको जोखिम बढेसँगै विभागले पर्वतारोहणको समयमा आरोहण गतिविधिबाहेकका फोटो, भिडियो खिच्न मनाही गरेको हो ।

पर्वतारोहणका दौरान आरोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भए पर्यटन विभागबाट अग्रिम स्वीकृति लिनुपर्नेछ । पर्वतारोहण दल ल्याउने एजेन्सीले विभागबाट अनलाइन ब्रिफिङको फाराम भर्नुपर्ने भएको छ । त्यसपछि पर्वतारोहीले आरोहण अनुमति पाउने भएका छन् । सिजनको अन्तिम आरोहण अनुमति जारी भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुने भएको छ । पर्वतारोहीले आफू हिमाल चढ्न योग्य भए–नभएको बारे स्वघोषणा गर्नुपर्ने भएको छ ।

साभार- नयाँ पत्रिका

Facebook Comments Box