वैशाखको अन्तिमसम्म संसदबाट शिक्षा विधेयक पारित हुन्छ : महेश बर्तौला
काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्।
बुधवार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन्।
उनले वैशाख १२ गतेदेखि शुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे। संसद अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ।
उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्नसक्ने बताए। ऐन कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने उनले बताए।
उनले शिक्षकहरुमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह शिक्षकहरुसँग गरे। सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरुले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उनको भनाइ छ।
‘सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ? त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस् तर सरकारले उहाँहरुको न्यायोचित मागहरु पूरा गर्छ भन्ने कुरामा, समयमै विधेयक आउने कुरामा संसदले काम गरिरहेको छ‚’ उनले भने, ‘एकदिन पनि समितिबाट आएको प्रतिवेदन एकदिन पनि होल्ड नगरी अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भए पनि पार्लियामेन्टमा विधेयक आएपछि एकदिन पनि ढिलो नगरीकन हामी यो विधेयक पारित गर्छौं र उहाँहरुका कैयौँ राम्रा विषयहरुलाई सम्बोधन गरेर हामीले यो ऐनलाई अगाडि बढाउँछौँ। हामीले ग्यारेन्टी दिने गरी काम गरेका छौँ।’
अहिले संसदले बनाएको समितिले बनाएको उपसमितिले प्राप्त गरेको समयसीमालाई ख्याल गरेर अहोरात्र काम गरिरहेको उनले बताए। सरकारको तर्फबाट आवश्यक प्रभावकारी संयोजन भइरहेको पनि उनले बताए।
‘उपसमितिबाट रिपोर्ट पार्लियामेन्टमा आउँछ, बजेटसँग सम्बन्धित सरकारी बिजिनेस यदि कार्यसूचीमा छ भने त्यो रिपोर्ट आएपछि एकदिन पनि नरोकी बरु एक दुई दिन त्यसलाई होल्ड गर्न पर्यो‚ बजेटसँग रहेका कार्यसूचीलाई होल्ड गर्नुपर्यो भने होल्ड गर्छौं‚’ उनले भने, ‘प्रतिवेदन आएको दुई दिन पनि नराखी पार्लियामेन्टबाट हामी पारित गराउँछौँ। त्यसकारण २२ वा २२ गतेसम्म उपसमितिले समितिलाई प्रतिवेदन पेश गर्ने र समितिले एकाध हप्ता छलफल गर्दा यसको अन्तिमसम्म पेश गर्यो भने मलाई लाग्छ यो महिनाकै अन्तिममा त्यो हाराहारीमा एकाध दिन तलमाथि होला हामी पारित गर्ने ठाउँमा हुन्छौँ।’ थाहा खबर
