पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले पुरुषहरू वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौती दुवै भएको बताए। उनले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुने बताए। महिलाले धैर्यपूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भूमिका उपयुक्त हुने बताए।
उनले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्न सक्ने उनको भनाइ छ।
पाण्डेले भने‚ ‘महिला उद्यमशीलताको विषय निकै सम्भावना र चुनौतीको विषय हो। सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने मानिसहरू विदेश पलायन भइरहेको अवस्था संख्यात्मक दृष्टिकोणबाट पनि पुरुषहरू विदेश पलायन भएका गाउँहरू रित्तो भएको अवस्था छ। रित्तो भएको सन्दर्भमा पनि गाउँमा ७० प्रतिशत महिला हुनुहुन्छ। यो महिला उद्यमशीलता नै महत्त्वपूर्ण यतिखेरका लागि अर्थतन्त्रको आधार हुनसक्छ‚ पर्यटन क्षेत्रमा महत्वपूर्ण रणनीति हुनसक्छ।’
मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताए। उनले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट उत्पन्न भएको बताए। उनले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरूका लागि सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने प्रक्रियामा सरकार रहेको बताए। थाहा खबर
