मन्त्रीको आक्रोश : अधिकारविहीन गृहमन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्री म !
काठमाडौँ : वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले आफू अधिकार नभएको गृहमन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्री भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले आफूले तीनवटा मन्त्रालय सम्हाले पनि अधिकारविहीन रहेको बताएका छन्। शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा प्रदेश सरकार र त्यसका मन्त्री भूमिकाविहीन भएको बताएका छन्।
काठमाडौँमा शनिवार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघीय सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताएका हुन्। उनले संघीय कानूनहरू नबन्दा नागरिकको प्रदेश सरकारको आवश्यकता नरहेको भ्रम पैदा भएको बताए।
उनले प्रदेश सरकार गठन भएको ७ वर्ष बित्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका कानून नभएकाले प्रदेश सरकार बुख्याँचा बनेको टिप्पणी गरे। समय सापेक्ष कानून नहुँदा प्रदेश सरकारलाई काम गर्न धेरै कठिनाइ भइरहेको उनको भनाइ छ।
मन्त्री लामिछानेले भने, ‘संघीय कानून नबन्दा, शिक्षा विधेयक नआउँदा १५ दिनदेखि देशभरका शिक्षक आन्दोलनरत हुनुहुन्छ। प्रदेशको हकमा पनि संघले कानून नबनाउँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका संघीय कानून नभएकाले प्रदेश सरकार बुख्याँचा जस्तो भएको छ। अधिकार नभएको गृहमन्त्री, सञ्चार गृहहरू नभएको म सञ्चारमन्त्री। मैले बनाएको कानून संघीय कानूनसँग जुध्छ। संघीय कानून २०१२ सालको छ‚ त्यसको कानूनमन्त्री म। तीनवटा मन्त्रालय सम्हालेको छु तर अधिकारविहीन छु।’
जनताले प्रदेश सरकारको भूमिका देख्नको लागि संघ सरकारले जतिसक्दो छिटो कानून बनाइदिनुपर्ने माग गरे। उनले प्रदेश सरकारको काम नीति तथा कार्यक्रममा बढी केन्द्रित भएको जिकिर गरे। थाहा खबर
