‘शिक्षा र स्वास्थ्य : प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’
काठमाडौँ : वागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताएका छन्।
नेपाल औषधि व्यवसायी संघ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानून बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको बताए।
उनले सङ्घीय सरकारले ऐन नबनाएसम्म प्रदेशहरूले ऐन बनाएर कार्यान्वयन गर्ने अवस्था नरहेको स्पष्ट पारे।
चित्रकारले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्र जनतालाई प्रदेश सरकारको उपस्थिति देखाउने क्षेत्र हो तर अहिले पनि हामी प्रदेश सरकार आवश्यक छ र ? भन्छौँ। प्रदेश सरकार कहाँ छ र भन्छौँ। यसकाको कारण सङ्घीय सरकारले प्रदेश सरकारलाई संविधानले दिएको अधिकारबमोजिम कानुन बनाएर नदिनु हो।’
प्रदेशसभा सदस्य चित्रकारले विभिन्न पेशा देखिएका समस्या समाधान गर्न प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताए। उनले एकले अर्कोलाई आलोचना गरेर भन्दा समन्वय गरेर समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको लागत मूल्य घटाउन लागिपरेको बताए। उनले कुनै कुनै औषधिमा खुद्रा विक्रेताले एक सय १५० प्रतिशतसम्म मार्क अप लिएको बताउँदै यो उचित नभएको जिकिर गरे।
महानिर्देशक ढकालले सुधारात्मक कुरामा सहयोग आवश्यक भएको भन्दै सबैको फाइदाका लागि कुरा उठाइएको बताए। थाहा खबर
