निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँ : अर्थसचिव उपाध्याय

सेयर गर्नुहोस

काठमाडौँ : अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामतीलगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउनुपर्ने बताएका छन्।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने बताएका हुन्।

उनले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थप अतिरिक्त पद सिर्जना गर्न नहुने बताए। उनले ३० जना अतिरिक्त सचिव थप्दा वार्षिक ७ करोड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे।

उनले सहसचिवको बढुवालाई समयबद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताए।

‘अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो। यसले निर्णयको तह पनि बढाउँछ र खर्च पनि बढाउँछ। ३० जना अतिरिक्त सचिव हुँदा वार्षिक रुपमा ७ करोडजति खर्च बढ्दो रहेछ र अर्को कुरा हामीले यहाँ जति छलफल गरेपनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौँ‚’ उनले भने, ‘किनभने सहसचिव ११ देखि १२ वर्षमा सचिवमा बढुवा हुन्छन्। सहसचिवको बढुवा समयबद्ध गराउन अतिरिक्त सचिव आएको हो जस्तो लाग्छ र त्यसलाई व्यवस्थापन गर्न सचिव र मुख्य सचिवको १/१ वर्ष समयावधि घटाउने जुन प्रस्ताव छ त्यसले यसको व्यवस्थापन हुन्छ जस्तो लाग्छ।’

उनले कर्मचारीको क्षेत्रमा अतिरिक्त पद सिर्जना गर्दा निर्णयको तह र खर्च बढ्ने भन्दै त्यस्तो नगर्न सुझाव दिए। थाहा खबर

Facebook Comments Box