चारदेशीय टी–२० सिरिज : कुवेतसँग ३ रनले हारेर नेपाल उपविजेतामा सीमित

सेयर गर्नुहोस


काठमाडौँ : हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेता भएको छ भने उपाधि कुवेतले जितेको छ। आज भएको फाइनलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १७१ रनमात्र बनाउन सक्यो।

नेपालका लागि बसिर अहमदले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन बनाए। नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्।

कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक ३ विकेट लिए। यासिन पटेल र नवीनराज राजेन्द्रनले २/२ विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि १/१ विकेट लिए।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए।

क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले १/१ विकेट हात पारेका थिए। थाहा खबर

Facebook Comments Box