भारतीय पर्यटकको आगमन झन्झटरहित बनाउँदै कोशी सरकार
विराटनगर : पर्यटन प्रवर्द्धनलाई बढावा दिन घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झटरहित आवागमनको बन्दोबस्त मिलाएको छ।
पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँचसहितको झन्झटरहित आवागमनको व्यवस्था मिलाएको हो।
पर्यटकको सुरक्षा जाँच, सवारी प्रवेश पास र कर शुल्कलाई झन्झटरहित बनाउन सवारीसाधनमा स्टिकर अभियानलाई प्रदेश सरकारले अघि बढाएको छ।
स्थानीय तहसँगको समन्वयमा ठाउँ नै पिच्छे लिइँदै आएको कर हटाइने जनाएको प्रदेश सरकारले भ्रमण वर्ष २०८२ अवधिभर भारतीय पर्यटक सवार सवारीसाधनको हकमा अनावश्यक जाँच नहुने जनाएको छ।
भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकाहरु मोरङको रानीसहित सुनसरीको कोशी ब्यारेज, झापा र पशुपति नगरमा पर्यटक लक्षित डेस्क स्थापना गरी यात्रा सहजीकरणको अभियान अघि बढाइएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बताए।
डेस्कमार्फत एकै स्थानमा एकै पटक जाँचसहितका सबै प्रक्रिया पूरा गरी सवारीसाधनमा स्टिकर टाँसिने मन्त्री मण्डलले बताए।
स्टिकर टाँसिएका पर्यटक चढेका सवारीसाधनको हकमा गन्तव्यसम्म पुगेर नफर्किएसम्म सुरक्षा सम्वेदनशिलताबाहेकको हकमा कहीँकतै रोकटोक र बाधा अवरोध हुने छैन।
कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउँदै छ। प्रदेशभित्रका रमणीय स्थानहरुको प्रर्वद्धन गरी १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले भारतीय पर्यटक लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ।
सोहीअनुरुप पर्यटकको यात्रा सहज र झन्झटरहित बनाउन भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा नेपाली पक्षले डेस्क स्थापना गरी स्टिकर टाँसको अभियानलाई अघि बढाएको छ। थाहा खबर
