राजसंस्था पुनःस्थापना गराउँछौँ : डा. जगमान गुरुङ
काठमाडौँ : राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरूलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताए।
उनले समय सीमाभित्र सरकारले नेताहरूलाई मुक्त नगरे तीनकुनेमा मारिएका युवाहरूको रगतले लत्पतिएको माटोको टीका लगाएर भद्र आन्दोलनमार्फत सामूहिक गिरफ्तारी दिने बताए। उनले आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै इच्छुक सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गरे। उनले सशस्त्र वा हिंस्रक आन्दोलन गर्ने आफूहरूको कुनै मनसाय नभएको भद्र अवज्ञा आन्दोलनमार्फत अभियान सफल हुने दाबी गरे।
गुरुङले भने, ‘यहाँ स्ट्याटस खोज्ने पनि होइन। लो प्रफाइलमा बसेर आन्दोलन सफल पार्नुपर्छ। हाम्रो अभियान सफल हुन्छ। वैशाख २१ गतेसम्मको समयमा पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकको नजर बन्द खुलाएन भने हाम्रा बन्दी बनाइएका साथीहरूलाई मुक्त गरेन भने २२ गते हामीले तीनकुनेमा शहीद बनेका व्यक्तिहरूको रगतले लत्पटिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिन्छौँ। सबैभन्दा पहिला मै हिँड्छु।’
डा. गुरुङले तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरूले हल्ला चलाएको बताए। उनले अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने दाबी गरे। थाहा खबर
