देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी : शेखर कोइराला
काठमाडौं : नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।
आइतवार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सांसद कोइरालाले नेतृत्व तह नै बिचौलियाहरूसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे। उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसका लागि बिचौलियाहरूबाट सचेत र सतर्क रहन जरुरी रहेको बताए।
उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै उनले बिचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए।
कोइरालाले भने‚ ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन युनिभर्सिटीमा भिसीले राजीनामा दिनुभयो। मलाई धेरै प्रेसर पर्यो। मैले सकिनँ भनेर भन्नुभयो। हाम्रा नेतृत्वहरू बिचौलियाहरूको खेलमा संलग्न हुनुहुन्छ।’
सांसद कोइरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए। उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्ने उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसद्को रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए ।
थाहा खबर
