अधिवेशन अन्त्य गर्ने निर्णयले बागमती सरकारको दम्भ र निरंकुशता उदाङ्ग : विपक्षी दलहरू
हेटौँडा : बागमती प्रदेशसभाका विपक्षी दलहरुले प्रदेश सरकारको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको दम्भ, घमण्ड र निरंकुशता उदाङ्गिएको आरोप लगाएका छन्।
बुधवार पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले आफ्नो कमीकमजोरी र असफलता ढाकछोप गर्न संसद छलेको आरोप लगाएका हुन्।
नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनालले आफ्नो असफलता ढाकछोप गर्न सरकारले संसद छल्ने काम गरेको आरोप लगाए।
‘बागमती प्रदेश सरकारको यस प्रकारको हर्कतले सरकार पूर्णतः असफल सावित भएको छ। आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल्ने कार्यले चाँडै हुने वर्षे अधिवेशनलाई समेत प्रभावित पार्नेछ,’ नेता खनालले भने, ‘बजेट अधिवेशनसमेत अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ। दलहरुबीचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेटसमेत ल्याउने नैतिकता गुमाएकोले यस प्रकारको गैरजिम्मेवार हर्कत छोडेर वार्ता र सहमतिमार्फत अगाडि बढ्न हामी जोडदार माग गर्दछौँ।’
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैदलहरुको साझा एजेन्डालाई गम्भिरतापूर्वक कार्यान्वयन गर्नुको सट्टा आलटाल गर्ने र अलमल्याउने नीति सरकारको देखिएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालको आरोप थियो।
उनले विगतका सहमति कार्यन्वयन गरी प्रदेशसभा संचालन गर्ने वातावरण बनाउन मंगलवार दिनभर वार्ता र संवादपश्चात बुधवार १ बजे बस्नेगरी सहमति हुँदाहुँदै बुधवार विहान अधिवेशन अन्त्य गर्ने निर्णयले सरकार प्रदेशसभाबाट भागेर संसद छलेर गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत भएको आरोप उनले लगाए।
दलहरूबीच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्वता‚ केटाकेटीपनमात्र देखिएन ठूला दलहरु मिलेर बनेको सरकारको दम्भ, घमण्ड र निरंकुश शैलीसमेत उदाङ्गिएको उनको आरोप थियो।
मंगलवार बसेको सर्वदलीय बैठकमा सरकार निकै गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत हुँदा पनि विपक्षी दलहरु जिम्मेवार ढङ्गबाट लचिलो बनि वार्ता र छलफल भइरहँदा बुधवार विहान प्रदेश सरकारको बैठक बसी चालू अधिवेशन अन्त्य गर्ने हठात् निर्णय गर्नुले कार्यपालिका र व्यवस्थापिकाबीचको दूरी बढाउने दिशामा सरकार उन्मुख देखिएको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले आरोप लगाए।
उनीहरुले सरकारले यसैगरी पेलिरहे वर्षे अधिवेशनसमेत प्रभावित हुने उनीहरुले चेतावनी दिएका छन्।
मंगलवार विहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठकसमेत निष्कर्षविहीन बनेको थियो। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको विगतको बजेटमाथिको सहमति र पछिल्लो समय भएको सहकारीमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठकमा सहमति हुन सकेको थिएन।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकबाट आज राति ११:५९ बजे संसदको अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै प्रदेशसभाको बैठक सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको सूचना जारी गरेका छन्। थाहा खबर
